निष्ट लिटिल फ्लावर प्रिमियर लिग : कैलाली विद्या निकेतन, एक्सिस र सिद्धार्थ विजयी
धनगढी । धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारका खेलमा कैलाली विद्या निकेतन, एक्सिस विद्याश्रम र सिद्धार्थ शिशु सदन विजयी भएका छन् ।
बुधबारको पहिलो खेलमा कैलाली विद्या निकेतनले क्यास्पियन एकेडेमीलाई पाँच विकेटले पराजित गर्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको क्यास्पियनले १९ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनायो । क्यास्पियनका हिक्मत सेट्टीले ४६ रन बनाए ।
बलिङतर्फ कैलाली विद्या निकेतनका अर्जुन ऐरले तीन तथा सागर भण्डारीले दुई विकेट लिए ।
९३ रनको विजयी लक्ष्य पाएको कैलाली विद्या निकेतनले १५ ओभरमा लक्ष्य भेट्टायो । कैलाली विद्या निकेतनका शेर मल्लले २९ तथा आयुष्मान बमले २५ रन बनाए । खेलको म्यान अफ द म्याच कैलाली विद्या निकेतनका अर्जुन ऐरी भए ।
दोश्रो खेलमा एक्सिस विद्याश्रमले टीकापुरको रेडियन्ट मन्टेश्वरीलाई २९ रनले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गरेको एक्सिसले २० ओभरमा पाँच विकेट क्षतिमा एक सय ३५ रन बनायो ।
एक्सिसका सुरज बोहराले ३४ र अजय विष्टले ३१ रन बनाए । टीकापुरका सुवास सिंह ठकुरीले दुई विकेट लिए ।
प्रतिउत्तरमा रेडियन्ट मन्टेश्वरी २० ओभरमा नौ विकेटमा एकसय छ रनमा समेटियो । टीकापुरका विप्लव बिष्टले २० रन बनाए ।
एक्सीसका अमित रावत, अजय विष्ट र नरेश बोहराले २/२ विकेट लिए । खेलका म्यान अफ द म्याच अजय विष्ट भए ।
तेश्रो खेलमा सिद्धार्थ शिशु सदनले नेपालगञ्जको एबिसि स्कुललाई ५० रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको सिद्धार्थले निर्धारित २० ओभरमा सात विकेट क्षतिमा एक सय ६७ रन बनायो । सिद्धार्थका खड्क बोहराले आकर्षक ७१ रनको अर्धसतकीय पारी खेले
एक सय ६८ रनको विजयी लक्ष्य पाएको एबीसी नेपालगञ्ज एक सय १७ रनमा अलआउट भयो ।
नेपालगञ्जका साहिल अन्सारीले २५ रन बनाए । सिद्धार्थका दीपेन्द्र थापाले चार विकेट लिए । खेलका म्यान अफ द म्याच सिद्धार्थका खड्क बोहरा भए ।
प्रतियोगिता अन्तर्गत आज काठमाडौंको हिमालयन ह्वाईट हाउस र कैलाली विद्या निकेतन, लिटिल बुद्ध एकेडेमी र धनगढी मावि तथा एक्सीस विद्याश्रम र स्टेपिङ स्टोन बीच हुने छ ।