२० भाद्र २०८१, बिहीबार

‘बाह्रवनको वैज्ञानिक व्यवस्थापन गर’



धनगढी । वन क्षेत्रका सरोकारवालाहरूले कैलालीको बाह्रवन साझेदारी वनलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न सुझाव दिएका छन् ।
आइतबार जिल्ला वन कार्यालय कैलाली र बाह्रवन साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन ईकाईद्वारा धनगढीमा गरिएको आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक योजना तर्जुमा तथा कार्यविधि निर्माण गोष्ठीमा सहभागीहरूले वनलाई रोजगारमूलक बनाउन पनि ठोस पहल गर्न आग्रह गरे ।
कार्यक्रममा धनगढी उपमहानगपालिका प्रमुख नृपबहादुर वडले जिल्लाका अधिकांस राष्ट्रिय वन अतिक्रमणको चपेटामा परेकाले उत्पादनमूलक वनमा रूपान्तरण गर्नुपर्ने बताए ।
उनले वैज्ञानिक ढंगबाट वन व्यवस्थापन गरिएमा रोजगारीका अवसर समेत सिर्जना हुने बताए ।
बाह्रवन साझेदारी वन व्यवस्थापन समितिका संयोजक ठक्करविक्रम शाहीले बाह्रवन साझेदारी वनबाट वार्षिक एक अर्ब रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको बताए ।
कैलालीका जिल्ला वन अधिकृत नवराज काफ्लेले बाह्रवन साझेदारी वन व्यवस्थापनले तीब्र गतिमा भइरहेको अतिक्रमण नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
गोष्ठीमा बाह्रवन संरक्षण, सामुदायिक विकास, जिविकोपार्जन तथा सीपमूलक तालिम, मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण, स्वास्थ्य सामुदायिक सेवा केन्द्र सञ्चालन, छात्रवृत्ति, वैकल्पिक उर्जा लगायतका कार्यक्रमसहितको वार्षिक योजना तर्जुमा गरिएको जनाइएको छ ।
कार्यक्रमको सञ्चालन वडा नम्बर २ का संयोजक धर्मराज ओझाले गरेका थिए ।
बाह्रवन साझेदारी वन व्यवस्थापन धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १३ र १६ मा लागू भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार