२९ कार्तिक २०८१, बिहीबार

संघीयता खारेज गर– जनमोर्चा



धनगढी । राष्ट्रिय जनमोर्चाले संघीय प्रणाली खारेज गर्नुपर्ने लगायत पाँच बुँदे माग सहित ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टको नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्री भट्टलाई पाँच बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापन पत्रमा भनिएको छ– नेपालको भूराजनीतिक अवस्था, राष्ट्रियताको रक्षा, विभिन्न जातजाति र क्षेत्रबीचको एकता, आर्थिक, सामाजिक तथा सांस्कृतिक कुनै पनि आवश्यकतासँग मेल नखाने हुनाले संघीय शासन प्रणाली खारेज गरिनुपर्दछ । ज्ञापनपत्रमा नेपालमा प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित एकात्मक व्यवस्था कायम गर्नुपर्ने उल्लेख छ ।
राष्ट्रिय जनमोर्चाले सीमा क्षेत्रका नेपालीहरूमाथि भारतीय पक्षबाट भइरहेको आक्रमण तथा सीमा अतिक्रमण, लुटपाट र कुटपिट लगायतका विषयमा समेत मुखयमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय जनमोर्चाले प्रदेश राजधानीका सन्दर्भमा शुरुदेखि नै विवाद देखिएकोले विज्ञहरू सम्मिलित आयोग गठन गर्न र त्यसले दिएको सुझावका आधारमा राजधानी कायम गर्न सुझाव दिएको छ ।
त्यस्तै, प्रदेशको विकासका लागि खुटिया–दिपायल फास्ट ट्रयाक, सेती लोकमार्ग, महाकाली लोकमार्ग लगायतका राजमार्गहरूको काम छिटो सम्पन्न गर्न र तिब्बतसँगको व्यापारिक नाका छिटो सञ्चालनमा ल्याउन माग गरिएको छ ।
संघीयताप्रति शुरुदेखि नै बिमती राख्दै आएको राष्ट्रिय जनमोर्चाले सात वटै प्रदेशमा संघीयताको विरुद्धमा कार्यक्रम गर्ने पनि जनाएको छ ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष लक्षीराम आचार्यले संघीयता खारेजी नभएसम्म आन्दोलन जारी हुने बताए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य भट्टले नेपाली जनताले गरेको झण्डै साढे छ दशक लामो संघर्षको परिणाम देशमा स्थापना भएको गणतन्त्रलाई संस्थागत गर्न तथा संविधानका सकारात्मक उपलब्धिहरू गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लगायतको रक्षा गर्दै देशलाई समृद्धितर्फ डोर्‍याउनु अहिलेको मुख्य कार्यभार रहेको बताए ।
उनले नेपालको संघीय शासन प्रणाली अन्तर्गत निर्वाचनमा कुनै दल विशेषले बहुमत वा दुई तिहाई बहुमत ल्याएर मात्रै देशमा शान्ति, राजनीतिक स्थिरता कायम हुनेछ भनेर सोच्नु गलत हुने बताए ।
राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष नन्दराज भट्टले संघीयता लगायत प्रदेशमा विद्यमान समस्या, राजधानी सम्बन्धी विवाद तथा नेपाल भारत सीमा क्षेत्रमा भइरहेको सीमा अतिक्रमण, नेपाल भारत सीमानामा भारतीय पक्षवाट नेपालीमाथि हुने लुटपाट, कुटपिट लगायतका विषयमा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको बताए ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा अखिल नेपाल किसान संघ केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राजाराम चौधरी र वेणिमाधव जोशी, वैकल्पिक केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, प्रदेश समिति सदस्य केशवनाथ योगी र कल्पना भण्डारी, डोटी जिल्ला सदस्य मानबहादुर खड्का, धनगढी उपमहानगरपालिका समन्वय समिति अध्यक्ष कृष्णप्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार