२६ भाद्र २०८१, बुधबार

चिकित्सक संघको चेतावनी– माग पूरा नभए आन्दोलन



काठमाडौं । नेपाल चिकित्सक संघले एक साताभित्र माग पूरा नभए देशभरका चिकित्सकलाई आन्दोलनमा उतार्ने चेतावनी दिएको छ ।
केही दिनअघि डोटीमा कार्यरत डाक्टर जीतेन्द्रकुमार सिहंमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्न ढिलासुस्ती गरिएप्रति आक्रोस व्यक्त गर्दै संघले सरकारले आक्रमणकारीलाई कारबाहीको दायरामा ल्याउन ढिलासुस्ती गरिरहेको आरोप लगाएको छ ।
संघले डाक्टर सिंहमाथि आक्रमणकारी गर्नेहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुको साटो अनावश्यक कानुनी झन्झट तेस्र्याएर आलटाल गरिएको आरोप लगाएको छ । संघले भनेको छ– ‘उल्टै चिकित्सकहरूमाथि कपोलकल्पित आरोप लगाउनुका साथै भौतिक आक्रमण गर्ने धम्की दिएर मनोबल गिराउने काम भइरहेको छ ।’ संघले चिकित्सकहरूमाथि आक्रमण दोहोरिन थालेपछि डोटीमा कार्यरत डाक्टरहरूलाई काठमाडौं बोलाइएको स्पष्ट गरेको छ ।
केही समयदेखि संघले आक्रमणकारीलाई ‘बिना धरौटी जेल चलान’ प्रमुख मागका रूपमा राखेको छ । संघका महासचिव डाक्टर लोचन कार्कीद्वारा आइतबार जारी विज्ञप्तिमा ‘माग पूरा नभए देशभरी विरोधका कार्यक्रम घोषणा गर्ने’ चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार