लगानी बृद्धि गर्न आह्वान
धनगढी । ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ७ नम्बर प्रदेशमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ ७ नम्बर प्रदेशद्वारा शनिबार धनगढीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री भट्टले देश संघीयतामा गइसकेकोले प्रदेशलाई समृद्ध बनाउन निजी उद्योगीहरूले लगानी बृद्धि गर्नुपर्ने बताए ।
मुख्यमन्त्री भट्टले विगतमा स्थिर सरकार तथा उपयुक्त नीति नभएका कारण मुलुकले आर्थिक विकास गर्न नसकेको बताए । उनले अहिले केन्द्र तथा प्रदेशमा स्थिर सरकार गठन भइसकेको चर्चा गरे । भने– ‘अब हामी उद्योगमैत्री नीति निर्माण गर्छौ । सबैलाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउँछौं ।’
मुख्यमन्त्री भट्टले प्राकृतिक स्रोतसाधनले भरिपूर्ण रहेको ७ नम्बर प्रदेशमा उपयुक्त नीति तर्जुमा गरेर रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई उत्प्रेरित गरिने बताए । उनले प्रदेश सरकारले तीन खम्बे अर्थनीति अबलम्बन गरी निर्यातमुखी नमुना प्रदेश बनाउने दावी गरे ।
कार्यक्रममा उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टले राजनीतिक लडाईको युग समाप्त भएर आर्थिक समृद्धिको समय आएको चर्चा गरिने ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ ७ नम्बर प्रदेशका कार्यबाहक अध्यक्ष नरबहादुर रावलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।