२ माघ २०८१, बुधबार

प्रधानमन्त्री कप राष्ट्रिय महिला कप क्रिकेट : पूर्वाञ्चल र एपिएफ उपाधीका लागि भिड्दै



धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि पूर्वाञ्चल र एपिएफ भिड्ने भएका छन् ।
फाइनल खेल आज हुने भएको छ । शनिबार भएको सेमिफाइनल खेलमा पूर्वाञ्चलले मध्यमाञ्चल र एपिएफले सुदूरपश्चिमलाई पराजित गरे ।
पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजित गर्‍यो । भने विभागीय टोली एपिएफले सुदूरपश्चिमलाई ८१ रनले हरायो ।
शनिबारको पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले काजोल श्रेष्ठको अविजित ५५ रनको अर्धशतकीय पारीले २० ओभरमा दुई विकेट क्षतिमा एक सय १९ रन स्कोर बनायो ।
पूर्वाञ्चलका अप्सरी बेगमले ३२ तथा कप्तान रुवीना क्षेत्रीले नटआउट १४ रन बनाए । काजोल र अप्सरीबीच तेस्रो विकेटका लागि ८६ रनको सानदार साझेदारी भएको थियो ।
प्रति ओभर ६ रनको विजय लक्ष्यसहित ब्याटिङ गर्न ओर्लेको मध्यमाञ्चलले पुरै २० ओभर खेले पनि ६६ रनमा नै सीमित भयो ।
मध्यमाञ्चलका कञ्चन श्रेष्ठले २१ र सीता श्रेष्ठले १७ रन बनाए ।
मध्यमाञ्चलमाथि ५३ रनको विजय दिलाउने क्रममा पूर्वाञ्चलका रुवीना क्षेत्रीको धारिलो तथा सटिक बलिङको प्रमुख भूमिका रह्यो । रुवीनाले चार ओभरमा एक मेडन ओभरसहित जम्मा ६ रन खर्चेर तीन विकेट लिइन् ।
त्यस्तै, पूर्वाञ्चलका सबनव राई, सन्तोषी चौधरी र संगिता राईले एक एक विकेट लिए । सो खेलका प्लेयर अफ द म्याच पूर्वाञ्चलका काजोल भइन् ।
शनिबारको अर्को सेमिफाइनल खेलमा विभागीय टोली एपीएफले सुदूरपश्चिमलाई ८१ रनको ठूलो रन अन्तरले हरायो ।
टस हारेर ब्याटिङ गर्न निम्त्याइएको एपिएफले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३१ रन बनायो । एपीएफका सीता रानामगरले ५१ रनको अर्धसतकीय पारी खेलिन् । त्यस्तै, सरीता मगरले ३७ र ज्योति पाण्डेयले १८ रन बनाएका थिए । ज्योति र सीताबीच पहिलो विकेटका लागि ६१ रनको साझेदारी भएको थियो । त्यस्तै, पिश्ता र सरीताबीच दोश्रो विकेटका लागि ४० रनको साझेदारी भएको थियो ।
बलिङतर्फ सुदूरपश्चिमका सुमन बिष्ट, लक्ष्मी साउँद र निशा भट्टले एक एक विकेट लिए ।
एक सय ३२ रनको विजयी लक्ष्य सहित ब्याटिङ गर्न उत्रिएको सुदूरपश्चिम १९ ओभरमा सबै विकेट गुमाएर ५१ रनमा सीमित भयो ।
सुदूरपश्चिमका निशा भट्टले बनाएको ११ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । अन्य ब्याट्सम्यान कसैले पनि दोहोरो अंक छुन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा तहसनहस बनाउने क्रममा एपीएफका सीता मगर, र करुणा भण्डारीले तीन, तीन विकेट लिए । त्यस्तै, अञ्जली चन्दले दुई विकेट लिइन् । खेलको प्लेयर अफ द म्याच सीता रानामगर भइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार