२ माघ २०८१, बुधबार

चिकित्सकमाथि आक्रमण प्रकरण : ‘दोषिलाई धरौटी बिना जेल चलान गर’



धनगढी । डाक्टरहरूमाथि आक्रमण गर्नेलाई धरौटी विना जेल चलान गर्नुपर्ने चिकित्सकहरूले माग गरेका छन् ।
सुदूरपश्चिम चिकित्सक संघ सुदूरपश्चिम क्षेत्रीय शाखाले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डोटी जिल्ला अस्पतालका डाक्टर जीतेन्द्रकुमार सिंहमाथि हातपात गर्ने व्यक्तिहरूलाई कुनै पनि हालतमा धरौटीमा छोड्न नहुने संघका अध्यक्ष डाक्टर प्रमोद जोशीले माग गरे ।
बिरामीको उपचारमा खटिएका डाक्टरमाथि सांघातिक हमला हुन थालेको भन्दै उनले चिकित्सकहरूलाई सुरक्षा अनुभूति हुने गरी सुरक्षा नीति ल्याउन ७ नम्बर प्रदेश सरकारसँग माग गरे । ‘विभिन्न समयमा कुनै न कुनै तरिकाले चिकित्सकमाथि आक्रमणहरू भइरहेका छन्’ डाक्टर जोशीले भने ‘यसले गर्दा चिकित्सक असुरक्षित बन्ने र त्यसता ठाउँमा पुन: काम गर्न जान अन्य चिकित्सक पनि डराउने अवस्था भइरहेका छन् ।’ उनले नि:स्वार्थ २४ सैं घण्टा सेवामा खटिने चिकित्सलाई राज्यले सुरक्षाको अनुभुति गराउन नसकेको बताए ।
‘चिकित्सकीय मर्यादा पालना गर्दागर्दै चिकित्सकमाथि नै सांघातिक हमला गरी गम्भीर घाइते बनाइएको घटनाका सम्बन्धमा समेत कपोलकल्पित आरोप लगाउँदै उल्टै चिकित्सकलाई बदनाम गर्ने, भौतिक कारबाही गर्छौं भन्दै मानसिक तनाव दिने गरिएको छ’ उनले भने– ‘सम्पूर्ण चिकित्सकले यस प्रकारको त्रसिदपूर्ण वातावरणमा स्वास्थ्यसेवा निर्वाध रूपमा प्रवाह गर्न नसक्ने विद्यमान परिस्थिति रहेको छ ।’
आक्रमणमा परेका डाक्टर सिंहले उनीहरू ज्यान मार्ने उद्देश्यले नै आएको आरोप लगाए । उनले दोषिलाई प्रहरीले पक्राउ गरेपनि राजनीतिक दवावमा छोड्ने प्रयास भइरहेको आरोप लगाए ।
उनले पीडकहरूमाथि मुद्दा दायर भएपछि विभिन्न राजनीतिक दलहरूबाट धम्की, आक्षेपहरू खेप्नु परेकाले डोटी छोडेर धनगढी पुगेको गुनासो गरे । उनले आफूहरू पुन: डोटी जिल्लामा काममा फर्कन सक्ने वातावरण नभएको पनि बताए ।
उनीसँगै लक्ष्मीनगर स्वास्थ्य केन्द्रका डाक्टर राजकुमार विक र शैलेश्वरी अस्पतालका डाक्टर सुरज रिजाल पनि धनगढी पुगेका छन् । उनीहरू धनगढीबाट काठमाडौं प्रस्थान हुने जनाएका छन् । डाक्टर सिंहको घटनाको विरोधमा जिल्लाका डाक्टरले मंगलबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार