३० भाद्र २०८१, आईतवार

संघीयता सफल बनाउन सबैबीच समन्वय र सहकार्य– मन्त्री सोडारी



धनगढी । सात नम्बर प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले संघीयता सफल बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज, संघसंस्था सबैबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।
मन्त्री सोडारीले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नागरिक समाजको अहम् भूमिका रहेको स्मरण गर्दै प्रदेश सरकार सहितको संघीय संरचना सफल बनाउन पनि निरन्तर निगरानी तथा खबरदारी आवश्यक रहेको बताए ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीले मन्त्री सोडारी तथा प्रतिनिधि सभा सदस्य लक्ष्मीकुमारी चौधरी विनाडीलाई बिहीबार धनगढीमा गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा उनले प्रदेश सरकारले विकासका साझेदार संघसंस्थाको भूमिका प्रभावकारी बनाउने ढंगले ठोस नीति तर्जुमा गर्ने बताए ।
मन्त्री सोडारी सञ्चार प्रतिष्ठान नेपालका संस्थापक सदस्य हुन् भने प्रतिनिधि सभा सदस्य चौधरी केही वर्षसम्म संस्थाका सहकर्मी रहेकी थिइन् ।
मन्त्री सोडारीले सामाजिक मुद्दाको उठान, विकृतिबिसंगति अन्त्यका लागि निरन्तर दवावमूलक अभियान, विकास निर्माण तथा सरकारका कामकारबाहीको निरन्तर निगरानीका लागि संघसंस्था, नागरिक समाज जागरुक हुन आग्रह गरे ।
कार्यक्रममा सांसद चौधरीले सामाजिक रूपान्तरण प्रक्रियालाई बलियो बनाउन नागरिक संघसंस्थाको अहम् भूमिका रहेको चर्चा गरिन् ।
सांसद चौधरीले संघीयता जस्ता नौलो अभ्यासलाई सफल बनाउन तथा पछिल्ला आन्दोलनका उपलब्धी संस्थागत गर्न सरकार, संसद, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चार क्षेत्र सबै एकअर्काका सहयोगीका रूपमा रहनुपर्ने बताइन् ।
कार्यक्रम संस्थाका अध्यक्ष प्रकाशबिक्रम शाहको अध्यक्षतामा भएको थियो । पत्रकार मनमोहन स्वाँरले स्वागत गरेको कार्यक्रमको संस्थाका कोषाध्यक्ष श्रवण देउवाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार