२ माघ २०८१, बुधबार

आज प्रजातन्त्र दिवस



धनगढी । आज ६७ औं प्रजातन्त्र दिवस । २००७ सात साल फागुन ७ गते एक सय चार वर्षीय जहानिया राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिन ।
प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा आइतबार साँझ धनगढीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दीप प्रज्ज्वलन गरियो ।
त्यस्तै सबै छ वटा मन्त्रालय, सरकारी कार्यालय लगायतका स्थानमा पनि दीप प्रज्ज्वलन गरिएको थियो ।
त्यस्तै, प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा आइतबार धनगढीमा फलफूल वितरण तथा सरसफाई लगायतका कार्यक्रम भए ।
धनगढी उपमहानगरपालिकाले ६७ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सेती अञ्चल अस्पतालका विरामीलाई फलफूल वितरण गर्नुका साथै धनगढीमा सरसफाई कार्यक्रम गरेको थियो ।
उपमहानगरपालिकाले अञ्चल अस्पतालका दुई सय ७५ विरामी तथा आफन्तलाई फलफूल वितरण गरेको थियो ।
उपमहानगरपालिकाले अस्पतालको प्राङ्गणमा सरसफाई गर्नुका साथै अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्मको सडकको दायाँ–बायाँ सरसफाई गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले जानकारी दिए ।
नगर प्रमुख वडले सबै वडाहरूमा सरसफाई कार्यक्रम गरेको पनि जानकारी दिए ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिकाका कर्मचारी, महिला स्वयंसेविका, अस्पतालका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
देश संघीय संरचनामा गईसकेपछि दिवसलाई भव्यताका साथ मनाउन गृह मन्त्रालयले संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले स्थानीय तहहरूलाई विविध कार्यक्रम गर्न अनुरोध गरेको छ ।
दिवसको अवसरमा आज (सोमबार) धनगढी उपमहानगरपालिकासहित जिल्लाका १२ वटै स्थानीय तहले विविध कार्यक्रमको आयोजना गरिरहेको छ । आइतबारदेखि भोलि (मंगलबार) सम्म दिवस देशव्यापी रुपमा मनाईन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार