एनसेलमाथिको आक्रमण : नियन्त्रणका लागि प्रहरीको विशेष निगरानी
धनगढी । कैलाली प्रहरीले एनसेलका टावरमाथि जारी शृंखलावद्ध आक्रमण रोक्न विशेष निगरानी थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले एनसेल मोबाईलको टावरमा क्षति पुर्याउन थालेपछि कैलालीमा रहेका एनसेलका टावरमा प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कैलाली प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार सम्बन्धित प्रहरी कार्यालयको मातहातमा रहेका एनसेल टावरमा क्षति हुन नदिन टावरको सुरक्षा गर्न, संकास्पद व्यक्तिहरूको सूचना संकलन गर्न लगायतका निर्देशन प्रहरी कार्यालयले दिइसकेको जनाएको छ ।
जिल्लामा रहेका एनसेलका टावरहरूको संख्या संकलन गरी प्रहरीले छड्के रूपमा टावरमा आफ्नो निगरानी बढाउन थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी घिमिरेले बताए ।
त्यस्तै, एनसेलको टावरमा क्षति पुर्याउने विप्लव समूहका कार्यकर्ताहरूको पनि प्रहरीले तत्थ्यांक संकलन गरी रहेको उनले बताए । उनले जिल्लामा रहेका नेकपाका कार्यकर्ता तथा नेताहरूको बसाई उठाई देखीको कहाँ र किन गए सबै संकलन गरिरहेको बताए ।
एनसेलले राज्यलाई राजश्व नतिरेको र सत्तामा रहेका मन्त्रीहरूलेनै एनसेलको संरक्षण गरेको भन्दै विप्लवले देशभरका विभिन्न जिल्लामा रहेका एनसेल टावरहरूमा क्षति पुर्याउन थालेको छ ।
विप्लवले ७ नम्बर प्रदेशको कैलालीको टीकापुर, बझाङ र डडेल्धुरामा रहेका तीन वटा टावरमा आगजनी तथा सर्किट बम राखेर क्षति पुर्याइसकेको छ । उता, डोटीमा पनि एनसेलका टावरमा प्रहरीले आफ्नो निगरानी बढाएको छ ।
यसैबीच, बिहीबार धनगढीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले नेपालमा सर्वाधिक ग्राहक रहेको दूरसञ्चार कम्पनी एनसेल माथि अझै कारवाही गर्ने चेतावनी दिए । उनले फागुन १ गते मुलुकको विभिन्न स्थानमा रहेका एनसेल टावरमा आफूहरूले आगजनी गरेको जिम्मा लिए ।
उनले आफ्नो पार्टीले स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामाको पनि माग गरेको बताए ।
पार्टीका पोलिटब्यूरो सदस्य पुनले वर्तमान सरकार र संसदीय व्यवस्थाले गर्दा मुलुक जर्जर अवस्थामा पुगेकोले वैज्ञानिक समाजवाद निर्माणको लागि जनप्रतिनिधिहरूले सहयोग गर्नुपर्ने जिकिर गरे ।