२७ भाद्र २०८१, बिहीबार

स्थानीय ऐनकानुनसम्बन्धी छलफल



धनगढी । स्थानीय तह सञ्चालनका लागि व्यवस्था गरिएका नीति, नियम, ऐनकानूनबारे छलफल गर्न सोमबार धनगढीमा कार्यक्रम भएको छ ।
राष्ट्रिय दलित नेटवर्क तथा शान्तिका लागि सामुहिक अभियान (कोक्याप) को आयोजनामा भएको ‘स्थानीय जनप्रतिनिधिसँग वर्तमान ऐनकानून सम्बन्धी छलफल’ मा कैलालीको गौरीगंगा र गोदावरी नगरपालिका तथा डडेल्धुराका अमरगढी, गन्यापधुरा र अजेयमेरु गाउँपालिकाका जनप्रतिनिधि, अधिकारकर्मी, सञ्चारकर्मी लगायत ४५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । सो अवसरमा उपमहानगरपालिका प्रमुख वडले धार्मिक, सांस्कृतिक संरचना, गरिबी, अशिक्षा लगायतका कारण अहिले पनि नेपाली समाजमा जातीय छुवाछूत तथा विभेद कायमै रहेको चर्चा गरे ।
उनले राज्यको शासन सञ्चालन प्रक्रियामा दलित समुदायको प्रतिनिधित्व बृद्धिका लागि राज्यको नीति सकारात्मक रहेको बताउँदै अझैं पनि नेतृत्व तहमा दलितको पहुँच बढाउन सबै पक्षको प्रयास आवश्यक रहेको बताए ।
सो अवसरमा अजेयमेरु गाउँपालिका उपाध्यक्ष कलावती देवी भाडले अझैं पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई उनीहरूको अधिकार र भूमिकाको पूर्ण उपयोग गर्नसक्ने अवस्था बनिनसकेको चर्चा गरिन् ।
कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका कार्यक्रम संयोजक टेकबहादुर विकले कैलालीको कैलारी गाउँपालिकाका तीन वटा वडालाई मानवअधिकार मैत्री घोषणा गर्ने तयारी भइरहेको बताए ।
उद्घाटन कार्यक्रमको राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय सदस्य श्याम सुनारको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कोक्यापका कार्यक्रम व्यवस्थापक सरोज नेपालले स्वागत गरेका थिए ।
आज (मंगलबार) सम्म सञ्चालन हुने कार्यक्रमका पहिलो दिन जिल्ला समन्वय समिति, कैलालीका समन्वय अधिकारी कृष्णप्रसाद गौतमले स्थानीय तह सञ्चालनका लागि व्यवस्था गरिएका ऐनकानुन, नीति, नियम, कार्यविधिबारे प्रस्तुति गरेका थिए ।
त्यस्तै, जातीय छुवाछूत तथा सामाजिक विभेदको अवस्था, स्थानीय तहमा व्यवस्था भएको लक्षित समूह कार्यक्रमको अवस्था तथा दलित समुदायमा थर परिवर्तनको अवस्था र प्रभाव सहितका पक्षमा गरिएको अध्ययनबारे पत्रकार मनमोहन स्वाँरले प्रस्तुति गरेका थिए ।
त्यस्तै, जिल्ला समन्वय समिति, कैलालीका सामाजिक विकास अधिकृत यगम कलेलले सामाजिक सुरक्षा कार्यक्रम, योजना तर्जुमा तथा बजेट विनियोजन लगायतका पक्षमा प्रस्तुति गरेका थिए ।
कार्यक्रमको राष्ट्रिय दलित नेटवर्कका कार्यक्रम अधिकृत सर्मिला बागचन्दले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार