पाँच दिनभित्रै नयाँ सरकार : उपप्रम थापा
धनगढी । उपप्रधान एवं उर्जामन्त्री कमल थापाले पाँच दिनभित्रै नयाँ सरकार गठन भइसक्ने बताएका छन् ।
सोमबार धनगढीमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्लास्तरीय भेलामा उनले निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति समक्ष बुझाएपछि नै नयाँ सरकार बन्ने दोहोर्याए ।
भेलाअघि आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री थापाले निर्वाचन आयोगले भने बमोजिम राजनीतिक दलहरूले क्लष्टर अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची बुझाएमा आयोगले तत्कालै राष्ट्रपतिलाई सूची बुझाउने र त्यसको लगत्तै नयाँ सरकार गठन प्रक्रिया शुरु हुने चर्चा गरे ।
उनले दलहरूले बुझाएको सूची क्लष्टर अनुसार नमिलेको पाइएमा तीन गते मात्रै राष्ट्रपतिलाई सूची बुझाउने तय भएको बताए ।
‘दुई महिना वितिसक्दा पनि नयाँ सरकार गठन हुन नसक्नुको मुख्य कारण संवैधानिक जटिलता नै हो’ उनले आगामी दिनमा सहमतिको आधारमा यस्ता जटिलता फुकाउनु पर्ने बताए ।
उपप्रधानमन्त्री थापा चमेलिया जलविद्युत आयोजनाको औपचारिक उद्घाटन कार्यक्रमपछि कैलाली र कञ्चनपुरको संक्षिप्त भ्रमणमा रहेका छन् । उनले सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले सुदूरपश्चिममा अन्य सानाठूला जलविद्युत निर्माणका लागि थप वातावरण बनेको चर्चा गरे ।
सञ्चारकर्मीहरूको एक जिज्ञासामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले राजालाई कुनै पनि पार्टीसँग जोडेर हेर्न नहुने बताए । उनले भने– ‘हाम्रो एजेण्डा भनेको हिजो जस्तो राजतन्त्र होइन की परिवर्तनकारीसँगको सहमतीमा राजसंस्था सहितको लोकतान्त्रिक हिन्दू राष्ट्रको वकालत हो ।’