होटल व्यावसायी र सुरक्षा निकायद्वारा आचारसंहिता जारी
धनगढी । होटल व्यावसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउने उद्देश्यसहित बिहीबार धनगढीमा १४ बुँदे आचारसंहिता जारी गरिएको छ ।
होटल व्यावसायी संघ, कैलालीद्वारा बिहीबार धनगढीमा आयोजित ‘सुरक्षा निकाय र होटल व्यावसायीबीच अन्तरक्रिया’ कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र संघबीचको सहमतीबाट आचारसंहिता जारी गरियो ।
आचारसंहितामा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कैलालीका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विनोद घिमिरे र संघका अध्यक्ष कलमबहादुर बमले हस्ताक्षर गर्दै सार्वजनिक गरेका थिए ।
आचारसंहितामा होटलमा बास बस्न आएका ग्राहकको पूर्ण विवरण दर्ता गराउनुपर्ने, प्रत्येक होटलले ग्राहकले पालना गर्नुपर्ने नियम देखिने गरी राख्नुपर्ने, सरकारद्वारा प्रतिबन्धित तथा कानुनद्वारा निषेधिक र सामाजिक अपराध, विकृति, विसंगति लगायतका कुनै पनि क्रियाकलाप गर्न नदिने र त्यस्ता क्रियाकलाप भएको भेटिएमा प्रहरी प्रशासनले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने र कानुन बमोजिम उमेर पुगेका व्यक्तिले होटलको आगन्तुक पुस्तिकामा आफ्नो नाता सम्बन्ध खुलाई आपसी समझदारीमा होटलमा सँगै बस्न पाउने उल्लेख छ ।
त्यस्तै, होटल तथा रेष्टुरेन्टमा अनुगमनका लागि आउने सरोकारवाला निकायले होटल व्यवस्थापक तथा रिसेप्सनमा जानकारी गराएर मात्र अनुगमन गर्ने, प्रहरी प्रशासनले होटल, लजका कोठाको चेकजाँच गर्नुपर्दा आगन्तुक दर्ता पुस्तिका हेरी शंका लागेमा मात्र व्यवसायीको रोहबरमा खानतलासी र अनुसन्धान गर्ने र अनावश्यक रूपमा होटलको नाम नजोड्ने उल्लेख छ ।
आचारसंहितामा आपत्कालीन अवस्थामा बाहेक अन्य समयमा राति १० बजेसम्म होटल तथा रेष्टुरेन्ट निर्वाध रूपमा सञ्चालन गर्न पाउने तथा राजमार्गका चिया पसल तथा बाहिरबाट आएका पर्यटकहरू होटलमा भित्राउने सवालमा यो नियम लागू नहुने उल्लेख छ ।
त्यस्तै, १६ वर्षमुनिका बालबालिकालाई होटलमा श्रमिकका रूपमा काममा लगाउन नपाइने, रेष्टुरेन्टहरूका क्याबिन तथा कटेजमा भित्रबाट चुकुल लगाउने व्यवस्था पूर्णरूपमा बन्द गर्ने, प्रत्येक होटल व्यवसायीले आफ्नो व्यवसायलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने, मूल्यसूची सबैले देख्ने गरी टाँस्नु पर्ने लगायतका व्यवस्था गरिएको छ ।
‘प्रशासन, प्रहरीले होटल व्यवसायलाई नियन्त्रण गर्ने नभई गैरकानुनी क्रियाकलापलाई मात्रै नियन्त्रण गर्ने हो’ कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘प्रत्येक होटल तथा रेष्टुरेन्टले पनि स्थानीय, छरछिमेकका गुनासा बढ्न नपाउन् भन्नेतर्फ सजग र गम्भीर हुनु आवश्यक छ ।’
प्रमुख जिल्ला अधिकारी रिजालले होटल व्यावसायीहरूबीच कुनै पनि किसिमको अस्वस्थ तथा अमर्यादित प्रतिस्पर्धा मौलाउन नपावस् भन्नेतर्फ संघ सधैं सचेत हुन आग्रह गरे ।
कार्यक्रममा प्रहरी उपरीक्षक घिमिरेले प्रहरीबाट हुने चेकजाँच आदि व्यावसायीलाई तर्साउन अथवा दु:ख दिनका लागि नभई स्वच्छ र मर्यादित व्यवसाय तथा सुरक्षाका लागि हो भन्ने मनन् गर्न आग्रह गरे ।
प्रहरी उपरीक्षक घिमिरेले प्रहरीले सधैं जनमुखी सेवा दिने प्रयास गरिरहेको र शान्ति सुरक्षा बनाइराख्न सबै पक्षबाट निरन्तरको सहयोग आवश्यक हुने चर्चा गरे ।
कार्यक्रममा संघका अध्यक्ष बमले होटल व्यवसायको अवस्था, समस्या र चुनौति लगायतका विषयमा चर्चा गरेका थिए । उनले होटल व्यवसायलाई अझ बढी मर्यादित तथा व्यवस्थित बनाउन संघले आगामी दिनमा थप कार्यक्रम लागू गर्ने बताए ।
कार्यक्रममा संघका उपाध्यक्ष श्याम महराले स्वागत गरेका थिए भने कार्यक्रमको महासचिव केशव पाण्डेले सञ्चालन गरेका थिए ।