हात्तीपाइले रोगविरुद्धको औषधि अभियान सञ्चालन हुँदै
धनगढी । कैलालीमा यस वर्ष पनि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने भएको । जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीले आगामी फागुनमा तीन दिन जिल्लाभरी नै औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
हात्तीपाइले रोग नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले फागुन १२, १३ र १४ गते जिल्लाभरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि वर्षको एक पटक गरी चारदेखि छ वर्षसम्म खुवाउनुपर्ने हुन्छ । सरकारले यस वर्ष कैलाली लगायत देशका २४ जिल्लामा कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले कैलालीमा आम औषधि सेवन कार्यक्रम प्रभावकारी नभएको एक सर्वेक्षणले देखाएको बताए ।
७ नम्बर प्रदेशको नौ वटै जिल्लामा सरकारले सन् २०१३ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको थियो । औषधि खुवाउने कार्यक्रम पाँचौ चरण पुरा गरी छैठौं चरणमा प्रवेश गरिरहेको अवस्थामा प्रदेश नम्बर ७ का तराईका जिल्लामा कार्यक्रमको उपलब्धी निराशाजनक देखिएको भेक्टर कन्ट्रोल सुपरभाइजर भट्टले बताए ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य सेवा विभागको टोलीले कात्तिकको तेस्रो साता ७ नम्बर प्रदेशको नौ वटै जिल्लामा रगत परीक्षण गर्दा कैलाली र कञ्चनपुरमा हात्तीपाइले रोगको संक्रमण दर दुई प्रतिशतभन्दा बढी देखिएको बताइएको छ ।
७ नम्बर प्रदेशको डडेल्धुरा, अछाम, डोटी, बझाङ, बाजुरा, दार्चुला र बैतडीमा हात्तीपाइलेको संक्रमण दर दुई प्रतिशतभन्दा कम देखिएको थियो । कैलालीमा सन् २००१ को तुलनामा संक्रमण दर वृद्धि भएको देखिएको छ । सन् २००१ मा कैलालीमा छ प्रतिशत संक्रमण दर रहेकोमा भर्खरै गरिएको अध्ययन अनुसार छ दशमलव ३३ प्रतिशत रहेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १०, ११ र १२ (साविकको पहलमानपुर गाविस) र लम्की नगरपालिकाको वडा नम्बर ६, ८ र १० (साविकको चुहा गाविस) का छ सय जनाको रक्त परीक्षण गर्दा ३८ जना अर्थात् ६ दशमलव ३३ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको तथ्यांकमा उल्लेख छ ।
परीक्षणले कञ्चनपुरमा सन् २००१ को तथ्यांकअनुसार हात्तीपाइलेको संक्रमण दर २० प्रतिशत थियो भने भर्खरै गरिएको सर्वेक्षणले संक्रमण दरमा सुधार भएको देखाएको छ । कञ्चनपुरमा अहिले दुई दशमलव आठ प्रतिशत संक्रमण दर रहेको छ ।
सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट सो रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो ।
सरकारले सन् २०१८ भित्र हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने लक्ष्य सहित विविध कार्यक्रम गरिरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंले हात्तीपाइले विरुद्धको औषधिबारे विभिन्न खालका गलत प्रचार गरिएका कारण पनि औषधि सेवन कार्यक्रम अपेक्षा गरेअनुरूप उपलब्धीमूलक हुननसकेको बताए । उनले भने– ‘हात्तीपाइले रोग विरुद्धको औषधि खाँदा मान्छेको मृत्युसम्म भएको, धेरै मान्छे बिरामी परेको जस्ता गलत प्रचारका कारण औषधि लिने, तर नखाने समस्याले कैलालीमा पनि औषधि सेवन कार्यक्रम प्रभावकारी हुनसकेको छैन ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईंले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए । ‘जिल्लामा औषधि सेवन कार्यक्रम प्रभावकारी नभएपछि कार्यालयले जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै छ’ उनले भने– ‘यो कार्यक्रम अन्तर्गत जिल्ला, स्थानीय तह, वडा स्तरीय अन्तरक्रियासँगै स्वयंसेविकाको अभिमुखिकरण, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, प्रचारप्रसार लगायतका गतिविधि गरिरहेका छौं ।’
कार्यक्रम अन्तर्गत बुधबार धनगढीमा जिल्ला स्तरीय सरकारी कार्यालयका प्रमुखहरूसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रम जिल्ला समन्वय समिति, कैलालीका संयोजक सूर्यबहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विनोद घिमिरे, महिला तथा बालबालिका कार्यालयकी प्रमुख सन्ध्या सिंह लगायत विषयगत कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाईज भट्टले दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी आमा, सिकिस्त बिरामी (जसले दैनिक क्रियाकलाप गर्न सक्दैनन्, ओछ्यानमा परेका, कडा रोग जस्तै, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, मिर्गि (छारे रोग) का रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालवालिकाहरूले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न नहुने बताए ।