मन्त्रालय स्थापना कार्य तीब्र



धनगढी । ७ नम्बर प्रदेशमा थप दुई वटा मन्त्रालय स्थापना गरिएको छ । सरकारले ७ नम्बर प्रदेशको अस्थायी राजधानी (मुकाम) धनगढी तोकेपछि मन्त्रालयहरूको स्थापना गर्ने क्रम तीव्र पारिएको छ ।
बुधबार धनगढीस्थित जिल्ला कृषि विकास कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र सहकारी डिभिजन कार्यालयमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय स्थापना गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव प्रदिपराज कँडेलले प्रदेशमा मन्त्रालय स्थापना गरी कामकारबाही अघि बढाइएको बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केही दिनअघि धनगढी आइपुगेका थिए भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बुधबार आइपुगेका छन् ।
प्रदेश मन्त्रीपरिषद्का सचिव कँडेललका अनुसार विषयगत मन्त्रालयले प्रदेशस्तरीय योजना र नीति बनाउने, नीतिको कार्यान्वयन गर्ने, अनुगमन लगायतका काम गर्ने छन् । ‘मन्त्रालय स्थापना नहुँदा काम नभएको भन्ने होइन’ उनले भने– विषयगत मन्त्रालयले अन्यत्रबाट पहिले देखिनै काम गरिरहेको र मन्त्रालय व्यवस्थित गरिएपछि आफ्नै कार्यालय भवनबाट काम अघि बढाइएको छ ।
यसअघि, मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले धनगढीस्थित यातायात व्यवस्था कार्यालयको निर्माणाधीन भवनबाट कामकाज शुरु गरेको थियो ।
मन्त्रालयमा दरबन्दी अनुसार सचिव लगायतका कर्मचारीहरु आउने क्रम पनि जारी रहेको छ । मन्त्रीपरिषद् सचिव कँडेलले दरबन्दी अनुसार कर्मचारी आउने क्रमसंगै मन्त्रालयको स्थापना र व्यवस्थित गर्ने कार्य अघि बढाइएको बताए ।
धनगढी चौराहस्थित आन्तरिक राजश्व कार्यालयको नवनिर्मित भवनमा अर्थ तथा योजना मन्त्रालय, क्षेत्रीय वन तथा तालिम निर्देशनालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनस्वास्थ्य कार्यालयको नवनिर्मित भवनमा शिक्षा, स्वास्थ्य तथा सामाजिक मन्त्रालय र क्षेत्रीय सिंचाईं निर्देशनालयको भवनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा स्थापना गरिने जनाइएको छ ।
मुख्यमन्त्रीको कार्यालय र अन्य मन्त्रालयको भौतिक मर्मत, व्यवस्थापनको काम शहरी विकास कार्यालयले गरिरहेको छ । ‘रंगरोगन गर्ने, कोठाहरूमा आल्मुनियम राखेर पार्टेसन गर्ने, बिजुली र सेनेटरी लगायतका कार्य तीव्र गतिमा भइरहेको छ’ सचिव कँडेलले भने– केही दिनभित्रै सबै मन्त्रालयका कार्यालय निर्माण कार्य पुरा हुने छ । उनले प्रदेश मुख्यमन्त्री चयन हुनुअघि सबै तयारी पुरा हुने बताए ।
मुख्यमन्त्रीको कार्यालय आँगनमा टायल बिछ्याउने, रंगरोगन गर्ने, शौचालयहरु बनाउने काम भइरहेको छ । मुख्यमन्त्री कार्यालय रहने तीन तले भवनमा पाँच वटा बैठक हल र १३ वटा कोठा रहेको छ । सो भवनको सबैभन्दा तल्लो तलामा मुख्यमन्त्रीको कार्यकक्ष रहने छ । यसैगरी, दोस्रो तलामा मुख्य सचिवको कार्यकक्ष र तेस्रो तलामा मुख्यमन्त्री निवास रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्