२८ पुष २०८१, आईतवार

डीपीएलका लागि ट्यालेन्ट हन्टबाट खेलाडी छनौट



धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) को लागि ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनौट गरिएको छ ।
डीपीएलमा सुदूरपश्चिमका खेलाडीहरूलाई प्रत्येक टिममा स्थान दिने उद्देश्यले आयोजित ट्यालेन्ट हन्टबाट यस क्षेत्रका १२ जना खेलाडी छनौट गरिएको जनाइएको छ ।
डीपीएलको आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार ट्यालेन्ट हन्टबाट प्रकाश जैशी, नारायण जोशी, सुवोध ऐर, विजय राना, लोकेश बम र विक्रम ठगुन्ना छनौट भएका छन् ।
त्यस्तै, किरनकुमार आग्री, वसन्तसिंह कार्की, शेरसिंह मल्ल, पूर्णसिंह ठकुरी, प्रकाश सिंह र सागर भण्डारी पनि ट्यालेन्ट हन्टबाट छनौट भएका छन् । ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जनामध्ये कम्तिमा पनि ६ जना खेलाडीले आउँदो चैत १७ गतेबाट धनगढीमा सुरु हुने डीपीएल खेल्न पाउनेछन् ।
ट्यालेन्ट हन्टमा एक सय बढी खेलाडीको सहभागिता रहेको थियो । छनौट भएका १२ जनालाई डीपीएलको अक्सनको ‘डी’ समूहमा राखिने छ । जसबाट प्रत्येक टिमले न्यूनतम २५ हजारदेखि अधिकतम ४० हजार रुपैयाँसम्म भाउ लगाउँदै प्रत्येक टिमले कम्तीमा पनि एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्रावधान आयोजकले गरेको छ ।
क्रिकेटका राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरूको मूल्यांकन गरेका थिए । डिपिएलमा देशका विभिन्न ६ टिमहरूले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, एक जना रणनीतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार