२८ पुष २०८१, आईतवार

माओवादी केन्द्रमा मुख्यमन्त्री विवाद



धनगढी । माओवादी केन्द्रभित्र प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको विषयमा विवाद चर्केको छ । माओवादी केन्द्रका असन्तुष्ट नेताहरूले मुख्यमन्त्रीका लागि गरिएको सिफारिसप्रति तीब्र विरोध जनाएका छन् ।
माओवादी केन्द्रको प्रदेश कार्यालयले केही दिनअघि डोटीका प्रदेश सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्रीका लागि सिफारिस गरेको थियो । असन्तुष्ट प्रदेश सांसद तथा नेताहरूले प्रदेश नम्बर ७ का इञ्चार्जले छलफल नै नगरी एकलौटी ढंगले सिफारिस गरेको आरोप लगाएका छन् ।
प्रदेश इञ्चार्ज लेखराज भट्ट र सह–इञ्चार्ज लक्ष्मणदत्त जोशीले प्रदेश कमिटीमा छलफल नै नगरी मुख्यमन्त्रीका लागि त्रिलोचन भट्टको नाम सिफारिस गरेको भन्दै असन्तुष्ट सांसदहरूले त्यसको विरुद्धमा उम्मेदवार उठाउने तयारी गरेका छन् ।
मुख्यमन्त्रीको निकै चर्चामा रहेका कैलालीका प्रदेश सांसद वीरमान चौधरीले पार्टी नेतृत्वले निर्णय नसच्याए प्रदेश कार्यालयको सिफारिस विरुद्ध उम्मेदवार उठाउने बताए ।
उनले भने– ‘प्रदेश नेतृत्वले यस विषयमा हामीसँग आवश्यक छलफल नगरेको खण्डमा प्रदेशबाट हामी छुट्टै उम्मेदवार उठाउनेछौं ।’
एमाले र माओवादी केन्द्रको गठबन्धनमा प्रदेश नम्बर ७ र ६ मा सरकारको नेतृत्व माओवादीले गर्ने सहमती भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार