११ श्रावण २०८१, शुक्रबार

आज राष्ट्रिय सभा सदस्य निर्वाचन



धनगढी । ७ नम्बर प्रदेशसहित आज देशका सबै प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै छ । प्रदेश नम्बर ७ मा राष्ट्रिय सभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । आज (बुधबार) बिहान १० बजेदेखि एक बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
७ नम्बर प्रदेशको डोटी जिल्लामा रहेको उच्च अदालतमा हुन लागेको निर्वाचनका लागि मतदानमा सहभागी हुन ८८ वटा स्थानीय तहका नगर प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र प्रदेश सदस्यहरू मंगलबार नै डोटी पुगिसकेका छन् ।
७ नम्बर प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सांसद ५३ र स्थानीय तहका एक सय ७६ गरी दुई सय २९ मतदाता रहेका छन् ।
प्रत्येक प्रदेश सांसदको ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ का अनुसार मतभार रहेको छ । सो अनुसार प्रदेशमा दुई हजार पाँच सय ४४ र स्थानीय तहमा तीन हजार एक सय ६८ मतभार गरी पाँच हजार सात सय १२ मतभार रहेको छ ।
प्रदेश नम्बर ७ मा खुला तथा महिला तर्फका सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । आज दलित र अपाङ्गता भएका सदस्यको बहुमतीय प्रणालीबाट निर्वाचन हुँदैछ । दलित र अपाङ्गता भएका एकएक सदस्यका लागि दुईदुई जनाको उम्मेदवारी रहेको छ ।
दलित कोटातर्फ एमालेबाट चक्रबहादुर स्नेही र काँग्रेसबाट शेरीराम पार्की उम्मेदवार रहेका छन् । त्यस्तै, अपाङ्गता भएका सदस्यका लागि नेपाली काँग्रेसबाट छत्रराज जोशी र माओवादी केन्द्रबाट महेशकुमार महरा उम्मेदवार रहेका छन् ।
७ नम्बर प्रदेशमा खुला तर्फका तीन पुरुष र तीन महिला गरी छ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले आज मात्रै औपचारिक रूपमा विजयी घोषणा गर्ने कार्यक्रम रहेको छ ।
मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूका अनुसार सबै मतदाताहरू मतदान गर्न आएमा एक जना उम्मेदवारले एक हजार चार सय २९ मत ल्याउनुपर्ने छ । मतदानमा मतपत्र प्रदेश सांसदका लागि र स्थानीय तहको जनप्रतिनिधिका लागि फरक–फरक रंगको गरी चार प्रकारको मतपत्र रहने छन् । प्रदेशमा एक मतदान स्थल र दुई वटा मतदान केन्द्र कायम गरिएको छ ।
एक मतदान केन्द्रबाट प्रदेश सांसद र अर्को मतदान केन्द्रबाट स्थानीय तहका जनप्रतिनिधिहरूलाई मतदान गर्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत पनेरूले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार