२७ भाद्र २०८१, बिहीबार

गुणस्तरीय दूरसञ्चार सेवामा ध्यान दिन आग्रह



धनगढी । ७ नम्बर प्रदेशका प्रमुख सचिव लक्ष्मीराज पौडेलले गुणस्तरीय दूरसञ्चार सेवा प्रवाहमा ध्यान दिन आग्रह गरेका छन् ।
‘सेवा प्रदायक संस्थाले सधै सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा दिने प्रतिवद्धता गरेको हुन्छ’ सोमबार धनगढीमा क्षेत्रीय नेपाल टेलिकमको १४ औं वार्षिकोत्सवमा प्रमुख सचिव पौडेलले भने– ‘सहज र गुणस्तरीय सेवा प्रदान गर्न कुनै कमीकमजोरी तथा लापरबाही हुन नदिन सधैं सजग हुनु पर्दछ ।’
उनले सरकारी स्वामित्वका कतिपय उद्योग, कम्पनी घाटामा गएर बन्द भएको ईतिहास भएको भए पनि नेपाल टेलिकम फाइदामा रहेको र राज्यको राजश्व बृद्धिमा पनि योगदान पुर्‍याइरहेको चर्चा गरे ।
प्रमुख सचिव पौडेलले नेपाल टेलिकमले आवश्यक पर्ने सार्वजनिक ठाउँमा नि:शुल्क ईन्टरनेट र टेलिफोन सेवा प्रदान गर्नुपर्ने सुझाव दिए । उनले अस्पताल, मानिसको चाप भएका स्थान, गरिब बस्ती लगायतका स्थानमा नि:शुल्क सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
प्रदेशको आन्तरिक मामिला मन्त्रालयका सचिव पिताम्बर घिमिरेले प्रदेशको आफ्नै सञ्चार नीति बनाउनुपर्ने भएकाले त्यसमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले अहिले सेवा विस्तार गर्ने क्रममा एक निकायले अर्को निकायमा बाधा पुर्‍याउने गरेको पाइएकोले निरुत्साहित गर्न सबैसँग आग्रह गरे ।
कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पछिल्लो समय दुरसञ्चार मानिसको दैनिक जीवन पद्धती र अति आवश्यक वस्तु बनेको बताए ।
उनले विगतमा नेपाल टेलिकम एकल प्रतिष्पर्धी भए पनि अहिले राष्ट्रिय स्तरमै पाँच वटा प्रतिष्पर्धी भइसकेकाले नेपाल टेलिकमलाई नागरिकमाझ अझै विश्वासिलो बनाउन आधुनिक प्रविधिसंग जोडिएर गुणस्तपरीय र सजह सेवा प्रदान गर्नमा सुधार ल्याउनुपर्ने सुझाव दिए ।
कार्यक्रम नेपाल टेलीकम क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय निर्देशक बुद्धकृष्ण मानन्धरको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा टेलिकमले तीन जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरेको थियो । पदक प्राप्त गर्नेमा सहायक व्यापार अधिकृत मकरबहादुर विष्ट, वरिष्ठ सहायक अधिकृत दलबहादुर खत्री र लाईनम्यान सीताराम चौधरी रहेका छन् । उनीहरूलाई एक महिनाको तलब पुरस्कार प्रादन गरियो ।
सो अवसरमा नेपाल टेलिकमको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दुरसञ्चारका वरिष्ठ ईन्जिनियर जगदिश लेखकले सेवा सञ्चालनका लागि जग्गा तथा घर प्राप्ती गर्न, भौगोलिक विकटताले संरचना निर्माणमा तथा विस्तारमा कठिनाई, सडक मर्मत तथा विस्तार कार्यले अप्टीकल फाईबर ब्रेक भई सेवा बारम्बार अवरुद्ध भइरहेको, सेवा सञ्चालन गर्न विद्युतीकरण गर्न कठिनाई, भौतिक संरचनाको सुरक्षामा समस्या लगायतका चुनौतिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार