२६ आश्विन २०८१, शनिबार

सभामुखको निर्वाचन २९ गते



प्रदेश नम्बर ७ को सभामुखको निर्वाचन यही माघ २९ गते सोमबार हुने भएको छ । प्रदेश सभाको आइतबारदेखि धनगढीमा शुरु भएको पहिलो बैठकले सभामुखको निर्वाचनको मिति तय गरेको हो ।
बैठक प्रदेश सभाका जेष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बसेको थियो । धनगढीस्थित कैलाली जिल्ला समन्वय समितिको सभाकक्षलाई प्रदेश सभा संसदका रूपमा परिणत गरिएको छ । बैठकमा प्रदेश नम्बर ७ का सबै ५३ जना प्रदेश सांसदहरूको उपस्थिति रहेको थियो ।
बैठकको शुरुमा प्रदेश प्रमुख मोहनराज मल्लद्वारा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइएको थियो ।
प्रदेश संसदका सचिव मुरारी महतका अनुसार आइतबारको बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लद्वारा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र सुनाउने, संसदमा बोल्ने वक्ता (सांसद), संसद अधिवेशन सञ्चालन कार्यविधि,सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षतामा गर्ने सदस्यहरूको मनोनयन र सभामुखको निर्वाचनका विषय कार्यसूचीमा रहेका थिए ।
बैठकले सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूमा माया भट्ट ( नेकपा एमाले), देवराज पाठक (नेपाली काँग्रेस), वीरमान चौधरी (नेकपा माओवादी केन्द्र), पूर्णा जोशी (नेकपा एमाले) र कृष्णबहादुर चौधरी (राजपा) लाई मनोनयन गरेको छ ।
आज अनुमोदन भएको प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ मा ३० वटा दफाको व्यवस्था गरिएको छ ।
प्रदेश सभा कार्य सञ्चालन कार्यविधिमा प्रदेश सभाको संक्षिप्त नाम र प्रारम्भ, बैठक, मन्त्री, सचिव, सचिवालय, सदस्य, सभामुख, संविधान, हाताका परिभाषा, बैठक शुरु हुने विधि, सांसदहरूको उपस्थिति र बस्ने क्रम, बैठकको अध्यक्षता, सभामुखको निर्वाचन, प्रस्ताव पेश गर्ने तरिका, छलफल र निर्णय गर्ने तरिका, उपसभामुखको निर्वाचन, सभामुख र सदस्यले पालना गर्ने कुराहरू, छलफलमा भाग लिने सदस्यले गर्न नहुने कुराहरू, सभामुखको विशेषाधिकार, बैठकको कार्यसूची र कारवाहीको विवरण, प्रदेश प्रमुखको सम्बोधन, धन्यवादको प्रस्ताव, नीति तथा कार्यक्रममाथि संशोधन, नियमापत्ति, विश्वासको मत, संसदीय दलको कार्यालय, पोशाक, स्पष्टीकरण, वाधा अडकाउ फुकाउने लगायतका दफाहरू रहेका छन् ।
पहिलो बैठकले संसद सचिवलाई सभामुखको चुनावको कार्यक्रम तय गर्ने र सार्वजनिक गर्ने जिम्मेवारी सुम्पेको छ । सो जिम्मेवारी अनुसार माघ २६ गते सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने संसद सचिव महतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार