प्रदेश सभा बैठक : संसद अधिवेशनको कार्यसूची तय
धनगढी । प्रदेश नम्बर ७ को पहिलो संसद अधिवेशनका लागि कार्यसूची तय भएको छ । प्रदेश संसदमा रहेका चार दलका सांसदहरूको शुक्रबार भएको छलफलबाट संसद अधिवेशनका लागि कार्यसूची तय भएको जनाइएको छ । प्रदेशको पहिलो अधिवेशन भोलि (आइतबार) धनगढीमा बस्दै छ ।
७ नम्बर प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा शुक्रबार प्रदेश कार्यालयमा भएको सर्वदलीय बैठकले पहिलो अधिवेशनको कार्यसूची तय गरेको हो । ७ नम्बर प्रदेश संसद सचिव मुरारी महतका अनुसार पहिलो अधिवेशन माघ २१ गते आइतबार दिउँसो १ बजे ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्ने छ ।
संसदको पहिलो अधिवेशनको शुरुमा प्रदेश प्रमुख मल्लको प्रदेश सभा बैठक आव्हान सम्बन्धी सूचना ज्येष्ठ सदस्य शाहले पढेर सुनाउने कार्यक्रम तय भएको छ ।
त्यस्तै, दोस्रो प्रस्तावमा अधिवेशन सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि पास गरिने छ । अधिवेशनमा दलका तर्फबाट एक/एक जना सांसदले विशेष समय लिएर बोल्ने कार्यसूची पनि बनेको छ । कुन दलबाट को सांसद बोल्ने भन्ने टुंगो सम्बन्धित दलले लगाउने छ । दलले टुंगो लगाएको व्यक्तिलाई अधिवेशनमा बोल्न पाउने सहमति बैठकमा भएको संसद सचिव महतले बताए ।
उनका अनुसार प्रदेश संसदको पहिलो बैठकले जेष्ठ सदस्य उपस्थित नभएको बेला सदन चलाउन एउटा प्यानल पनि गठन .गर्ने छ । त्यस्तै, सोही बैठकले नै प्रदेश सभामुखको निर्वाचनको मिति तय गर्ने र कार्य व्यवस्था परामर्श समितिको गठन पनि गर्ने सहमति भएको छ । समितिमा चार दलका चार जना सदस्य रहने सम्भावना छ ।
बैठकमा प्रमुख दल नेकपा (एमाले) का प्रदेश सांसदहरू प्रकाशबहादुर शाह, दीर्घ सोडारी, तारा लामा तामाङ, नेकपा (माओवादी) केन्द्रका वीरमान चौधरी, त्रिलोचन भट्ट, नेपाली कांग्रेसका भरत खड्का र राष्ट्रिय जनता पार्टीका मालमति राना उपस्थिति रहेको थियो ।
बैठकमा प्रदेश सचिव लक्ष्मीराज पौडेल, संसद सचिव महत, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल लगायतका सरकारी अधिकारीहरूको सहभागिता थियो ।
सात नम्बर प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका दुई जना प्रदेश सांसद रहेका छन् ।
संसदले प्रदेशको स्थायी राजधानी सम्बन्धी छलफल सभामुख चयनपछि सहमतिमा गर्न सक्ने बताइएको छ । संसद बैठक व्यवस्थित गर्न ३० जना मर्यादापालकको तालिम पनि भइसकेको प्रदेश संसद सचिव महतले बताए ।