३१ भाद्र २०८१, सोमबार

गौरीगंगामा मतदानबाट केन्द्रको टुंगो लगाइयो



धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको केन्द्र चौमालामा नै कायम गरिएको छ । केन्द्र कहाँ राख्ने भन्ने बारे सिर्जना भएको विवाद निर्वाचित जनप्रतिनिधिहरूको मतदानबाट समाधान गरिएको छ ।
मंगलबार गौरीगंगा नगरपालिकाका ५८ जना जनप्रतिनिधिमध्ये २५ जनाले साविककै चौमालामा केन्द्र कायम गर्नुपर्ने पक्षमा मत दिए भने ३३ जनाले सार्ने पक्षमा मत दिएका थिए ।
नगरपालिकाको केन्द्र मसुरिया वा राजीपुरमा सार्नुपर्ने भन्दै माग आएपछि मंगलबार मतदान गरिएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नगरपालिका र गाउँपालिकाहरूले सभाको बहुमतबाट केन्द्र र नाम परिवर्तनको निर्णय गरी त्यसको स्वीकृतिका लागि सरकारसमक्ष पठाउनुपर्ने व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार गौरीगंगा नगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरूले केन्द्र सार्ने विषयमा मतदान गरेका थिए ।
नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले केन्द्र सार्ने विषयमा मतदान गर्दा केन्द्र सार्ने दुई तिहाई मत नआएकोले साविककै स्थानमा केन्द्र राखिने निर्णय भएको बताइन् ।
११ वटा वडा रहेको गौरीगंगा नगरपालिकामा वडा नम्बर ११ र ७ का स्थानीयलाई नगरपालिकाको केन्द्रमा पुग्न समस्या हुने गरेको छ । सबै अधिकार वडा कार्यालयमा दिइएको भए पनि अझै पनि कतिपय वडाका स्थानीयले सेवा लिनका लागि टाढा धाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।
वडा नम्बर ११ र ७ का स्थानीयहरूलाई नगरपालिकाको केन्द्रमा पुग्न भौगोलिक दूरी भएकाले समस्या हुने गरेको बताइन्छ । राजीपुरमा भए केही सहज हुने भन्दै उनीहरूले नगरपालिकाको केन्द्र सार्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार