१२ श्रावण २०८१, शनिबार

मोहना–अत्तरिया छ लेन सडक निर्माण कार्य प्रभावित



धनगढी । मोहनापुल–अत्तरिया ६ लेन सडकको रिट निवेदनको सुनुवाई पटक–पटक सारिएको छ । सुनवाई सारिँदा सो सडक निर्माण कार्य प्रभावित भइरहेको छ । गत पुस १९ गते १३ जना घरधनीले क्षतिपूर्तिसहितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले पुस २६ गतेका लागि सुनुवाईका लागि बोलाए पनि सो दिन समय अभावका कारण देखाउँदै बहसलाई माघ २ गतेका लागि सारिएको थियो । माघ २ गते पनि सुनुवाई हुन नसकेपछि ९ गते र अहिले १८ गतेको मिति तय गरिएको छ ।
मोहनापुल–अत्तरिया सडक सीमामा परेका भौतिक संरचना भत्काउँदा क्षतिपूर्ति दिनुपर्ने माग गर्दै धनगढीका धना जोशी, लोकबहादुर कुँवर, मीनकाजी श्रेष्ठ, गंगा शाह, यज्ञराज ओझा मानबहादुर चन्द, ज्ञानबहादुर बिष्ट, कुसुमलता गैरे, महेन्द्रनाथ गैरे, मानबहादुर खड्का, दुर्गा खड्का, सुरजबिक्रम श्रेष्ठ र सरफसिंह बोहराले सर्वोच्चमा रिट हालेका थिए ।
रिट परेपछि सर्वोच्चले तत्कालका लागि छ लेन सडकको संरचना नभत्काउन आदेश दिएपछि अहिले सडकमा परेका संरचना भत्काउने काम रोकिएको छ । ती संरचना भत्काउने वा नभत्काउने फैसलामा ढिलाई हुँदा निर्माण कार्य प्रभावित भइरहेको छ ।
छ लेन सडकका आयोजना प्रमुख मनिष शाहले तीन चरणमा ठेक्का भएको आयोजनाको पहिलो चरणको ठेक्काको काम अघि नबढ्दा अन्य काम पनि प्रभावित भइरहेको बताए । पहिलो चरणअन्तर्गत मोहनापुलदेखि चटकपुरस्थित शहीदगेटसम्म एक सय ४५ घर भत्काउनुपर्ने देखिएको उनले बताए ।
उनले शहीहद गेटदेखि बोराडाँडीसम्मको अध्ययन भइरहेको बताए । पहिलो चरणको ठेक्कामा पर्ने भौतिक संरचना नहटेको र यसले गर्दा अन्य ठेक्कामा रहेका विद्युत, टेलिफोन पोलहरू सार्न कठिनाई भइरहेको उनले बताए ।
धनगढीको मोहनपुलदेखि अत्तरिया चौराहसम्म निर्माण हुने १४ दशमलव १९७ किलोमिटरको सडकको लागत अनुमान पुलबाहेक दुई अर्ब १५ करोड रुपैयाँ रहेको छ । भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्मको सो सडकको चौडाई ३२ दशमलव दुई मिटर रहने जनाइएको छ ।
आर्थिक वर्ष २०७३/७४ को मंसिरमा सो आयोजनाको कार्यालय उद्घाटन भएको थियो । सो सडक आगामी दुई वर्ष (सन् २०१९) भित्र निर्माण कार्य पूरा गरिने लक्ष्य रहेको छ । नेपाल सरकारको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गतको सो आयोजनामा दुई चरणको ठेक्काहरूको काममा विद्युत तथा टेलिफोन पोलहरू नसारिदा प्रभावित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार