६ कार्तिक २०८१, मंगलवार

स्थायी सरकार गठन हुँदैछ– प्रचण्ड



भजनी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै बहुमतको तथा स्थायी सरकार गठन हुने बताएका छन् ।
भजनी उद्योग बाणिज्य संघद्वारा आयोजित भजनी महोत्सव २०७४ को आज उद्घाटन गर्दै उनले जनताको बहुमत प्राप्त गरेको बाम गठबन्धनले बलियो र स्थायी सरकार बनाउने दोहोर्‍याए ।
उनले पार्टी एकता र सरकार गठन संगसंगै अघि बढ्ने बताए । उनले नेपालको इतिहासमा पहिलो पटक बाम गठबन्धनको बहुमतको सरकार बन्न लागेकोले यो सरकार स्थायी र स्थिर हुने दाबी गरे ।
पूर्व प्रधानमन्त्री प्रचण्डले भजनीमा छोटी भन्सार बनाएर व्यापारिक नाकाको रुपमा विकास गरिने बताए ।
उनले भजनीमा रिंगरोड निर्माण, थारु सांस्कृतिक प्रतिष्ठान स्थापनाका लागि पहल गरिने बताए ।
सो अवसरमा पुर्व प्रधानमन्त्री प्रचण्डलाई १५ बुदे ज्ञापन पत्र बुझाइएको छ । भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम जैशीले प्रस्तुत गरेको ज्ञापनपत्रमा पृथ्वीपुर छोटी भन्सार कार्यालयलाई मुख्य भन्सारमा परिणत गर्नेपर्ने, भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गर्नुपर्ने, भजनीमा रिङरोड निर्माण, कान्द्रा तथा मोहना नदी नियन्त्रण, गुलरिया घाट र मोहना नदीमा पुल निर्माण, भजनीमा आधुनिक कृषि परियोजना, महोन्याल बहुमुखी क्याम्पसको विकास लगायतका माग रहेका छन् ।
महोत्सव उद्घाटन कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष जैशीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको जयबहादुर बुढा र शितल शर्माले सञ्चालन गरेका थिए ।
महोत्सव माघ २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा ९० वटा ब्यापारिक स्टल राखिएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार