ऐश्वर्यले जित्यो क्यास्पियन कप



धनगढी । ऐश्वर्य विद्या निकेतनले धनगढीमा जारी क्यास्पियन कप क्रिकेटको उपाधी जितेको छ । ऐश्वर्यको यो लगातार तेस्रो जीत हो । जीतसंगै ऐश्वर्यले २५ हजार रुपैयाँ पुरस्कार तथा ट्रफी प्राप्त गरेको छ ।
शुक्रबार भएको फाइनल खेलमा ऐश्वर्यले कैलाली विद्या निकेतनलाई १० रनले पराजित गर्‍यो । उपविजेता कैलाली विद्या निकेतनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।
टस जितेर पहिले ब्याटिङ गरेको ऐश्वर्यले निर्धारित १६ ओभरको खेलमा आठ विकेट क्षतीमा ७६ रनको सामान्य स्कोर बनायो । ऐश्वर्यका सन्तोष बुढाले सर्वाधिक १७ रन जोडेका थिए । बलिङतर्फ कैलाली विद्या निकेतनका दिपेन्द्र रोकायाले चार विकेट लिए ।
७७ रनको विजयी लक्ष्य सहित मैदान उत्रेको कैलाली विद्या निकेतनले ६६ रनमा समेटियो । कैलालीका करन शाहले मात्र १० रनको दोहोरो अंक जोडे । कैलाली विद्या निकेतनमाथि सानदार जीत दिलाउने क्रममा ऐश्वर्यका प्रतिक बिष्ट र निशान्त पन्तले तीन–तीन विकेट प्राप्त गरे ।
सो खेलको म्यान अफ द म्याच ऐश्वर्यका प्रतिक बने ।

प्रतियोगिताका म्यान अफ द सिरिज ऐश्वर्यका प्रदिप बिष्ट भए । त्यस्तै, उत्कृष्ट बलर ऐश्वर्यकै विमल कठायत भए भने उत्कृष्ट ब्याट्सम्यान कैलाली विद्या निकेतनका प्रकाश शाह घोषित भए ।
प्रतियोगिता समापनका अवसरमा प्रदेश सभा सदस्य डिल्लीराज पन्तले विजेता टिम तथा खेलाडीलाई ट्रफी, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्