३१ भाद्र २०८१, सोमबार

दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण केन्द्र स्थापना



धनगढी । बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि कैलालीको धनगढीमा पहिलो पटक दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण केन्द्रको स्थापना गरिएको छ ।
‘ट्राफिक नियमको पालना गरौं, आफू पनि बचौं अरूलाई पनि बचाउँ’ भन्ने नाराका साथ दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम बस व्यावसायी समितिले दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण केन्द्रको स्थापना गरेको जनाएको छ ।
प्रदेश नम्बर ७ मा हरेक वर्ष अधिक सडक दुर्घटना हुने गरेका छन् । बस व्यावसायी समिति र ट्राफिक प्रहरीले संयुक्त रूपमा दुर्घटना न्यूनीकरणका लागि पहिलो पटक अग्रसर भएका छन् ।
दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण केन्द्रको प्रदेश नम्बर ७ का प्रहरी प्रमुख एआईजी माधव नेपालले बुधबार धनगढीमा आयोजित एक समारोहबीच उद्घाटन गरे ।
सो अवसरमा एआईजी नेपालले सडक दुर्घटनामा यातायात व्यावसायी तथा ट्राफिक प्रहरी निकाय दुवै कुनै न कुनै रूपमा दोषि रहेकोले न्युनीकरणमा पनि दुवै पक्ष मिलेर काम गर्नुपर्ने बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सडक दुर्घटना हुनुमा चालक र नियमन गर्ने निकायहरूको पनि कमजोरी रहने गरेको चर्चा गरे ।
कार्यक्रम सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष पदमराज सापकोटाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख युगबहादुर पाल, अधिवक्ता वीरबहादुर जेठारा, कार्यक्रम संयोजक केशवराज पन्त, पत्रकार दिलबहादुर छत्याल, प्रजातान्त्रिक यातायात मजदूर संगठनका रवीन्द्र खड्का, यातायात मजदूर संगठनका निर्मल मिश्र, यातायात मजदूर संघका प्रकाश बम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संघका उद्धार उपाध्यक्ष रमेश उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुरेन्द्र बोहराले
गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार