२७ आश्विन २०८१, आईतवार

महासंघको बैठकद्वारा विभिन्न निर्णय



धनगढी । नेपाल पत्रकार महासंघ कैलालीको मंगलबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । कैलालीको टीकापुरमा बसेको बैठकले महासंघको निर्माणाधीन भवनको निर्माण कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बैठक महासंघका अध्यक्ष जगत साउँदको अध्यक्षतामा बसेको थियो । बैठकले भवन निर्माणलाई अगाडि बढाउन कोषाध्यक्ष हिमाल जोशीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
महासंघले स्वर्गीय पत्रकार जयसिंह ज्यामीको परिवारलाई शाखाका तर्फबाट दश हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । सहयोग रकम टीकापुरस्थित स्वर्गीय पत्रकार ज्यामीका छोरा आयुशलाई प्रदान गरिएको छ ।
महासंघले पछिल्लो समय नेपाल पत्रकार महासंघ, सञ्चारकर्मी र सिंगो पत्रकारिता क्षेत्रको मर्यादामाथि नै आँच पुग्ने गरी सार्वजनिक अभिव्यक्ति तथा सामाजिक सञ्जालमा भए गरेका टिकाटिप्पणी प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको र त्यस्ता गतिविधि नगर्न, नगराउन सम्पूर्ण सञ्चारकर्मीमा आग्रह गरिएको छ । बैठकले आगामी दिनमा पत्रकार आचारसंहिता विपरित त्यस्ता गतिविधि भए गरेको पाइएमा पत्रकार महासंघको विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
महासंघले टीकापुर क्षेत्रमा सामाजिक सदभाव कायम गर्न सहयोग पुग्ने गरी वातावरण बनाउन सम्पूर्ण सरोकारवाला पक्षलाई महासंघ आह्वान गर्ने, रानी जमरा कुलरिया सिंचाई आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न, टीकापुर उद्यानको विकास, डल्फिन क्षेत्रको संरक्षण र सत्तीमा रहेको पदमप्रकाशेश्वर महादेव मन्दिरको प्रचारप्रसार तथा सम्बद्र्धनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराइने पनि निर्णय गरेको नेपाल पत्रकार महासंघका सचिव मीन ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार