सडकको सीमाभित्रका घर भत्काउनेलाई सम्मान
धनगढी । धनगढीमा मोहनापुल–अत्तरिया सडकको सीमाभित्र रहेका आफ्ना घर आफै भत्काएका घरधनीलाई सोमबार सम्मान गरिएको छ ।
युवा दवाव समूहले सोमबार ६ लेन सडकमा परेका संरचना स्व:स्फुर्त रूपमा भत्काउने घरधनीका लागि सम्मान गरेको थियो । कार्यक्रममा स्वस्फुर्त रूपमा घर भत्काएर सडकको निर्माणमा सहजीकरण गरेका १९ जनालाई अविर लगाउँदै दोसल्ला ओढाएर सम्मान गरियो ।
त्यस्तै युवा दवाव समूहले रिट निवेदन दिएर क्षतिपूर्ति माग गरेका घर धनीहरूका लागि भन्दै सांकेतिक रूपमा एक रुपैयाँ चन्दा संकलन गरेको छ । ट्राफिक चोकमा बाकस राखेर एक रुपैयाँ संकलन अभियान सुरु गरिएको अभियानका संयोजक दृष्टिबिहीन युवा अर्जुन रावलले बताए ।
धनगढीका धना जोशी, लोकबहादुर कुँवर, गंगा शाह, यज्ञराज ओझा, मानबहादुर चन्द, ज्ञानबहादुर विष्ट, कुसुमलता गैरे, महेन्द्रनाथ गैरे, मानबहादुर खड्का, दुर्गा खड्का, सुरज विक्रम श्रेष्ठ र सरफ सिंह बोहोरा गरी १३ जना घरधनीहरूले क्षतिपूर्तिको माग गर्दै सर्वोच्चमा रिट हालेका छन् ।