१२ माघ २०८१, शनिबार

प्रदेश प्रमुखले लिए सपथ



धनगढी । सात वटै प्रदेशका प्रमुखहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।
सो अवसरमा प्रदेश नम्बर १ का प्रमुख गोविन्द सुब्बा, २ का रत्नेश्वरलाल कायस्थ, ३ का अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ५ का उमाकान्त झा, ६ का दुर्गाकेशर खनाल र प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले सपथ ग्रहण गरे ।
प्रदेश प्रमुखहरूको सपथ ग्रहणसंगै निर्वाचन आयोगले प्रदेश सभा सदस्यको निर्वाचन परिणाम प्रकाशन गरेको छ ।
भोली धनगढीमा प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्यहरूको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम रहेको जनाइएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोली (आईतबार) नै मतदाता नामावली प्रकाशन गर्नुपर्ने भएकाले त्यसअघि नै प्रदेश सभा सदस्यहरूले सपथ ग्रहण गरिसक्नुपर्ने बताइएको छ ।
क्षेत्रीय प्रशासक लक्ष्मीप्रसाद पौडेलले धनगढीस्थित शुुभश्री प्यालेसमा प्रदेश सभा सदस्यको सपथ ग्रहण कार्यक्रम आयोजना गरिने बताए ।
यसैबीच, सरकारले ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकेकोमा शुक्रबार धनगढीमा दीप प्रज्ज्वलन गरिएको छ ।
सचेत नागरिक मञ्चले धनगढीको पार्कमोडमा साँझ दीप प्रज्ज्वलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार