२८ पुष २०८१, आईतवार

काँग्रेस कैलालीले निर्वाचनको समिक्षा गर्दै



धनगढी । नेपाली काँग्रेस कैलालीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समिक्षा गर्ने भएको छ ।
गत मंसिर २१ गते भएको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समिक्षा गर्न काँग्रेसले मातहतका सबै नगर, क्षेत्र तथा वडा कार्यसमितिलाई पत्राचार गरिसकेको जनाएको छ ।
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलालीमा काँग्रेसले नराम्रो हार बेहोरेको थियो । कैलालीका सबै पाँच प्रतिनिधि सभा सदस्य सिटमा काँग्रेसले एउटामा पनि जित्न सकेन भने १० वटा प्रदेश सभा सदस्य सिटमा दुईमा मात्र विजय प्राप्त गरेको थियो ।
नेपाली काँग्रेस कैलालीले जिल्लामा निर्वाचन हार्नुको कारण, निर्वाचन प्रचारप्रसारका लागि गठित समितिका पदाधिकारीको गतिविधि र असहयोगीहरूको नाम लगायतका विवरण एक साताभित्र पठाउन मातहतका सबै समितिलाई पत्राचार गरेको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सबै वडाहरूमा नगर कार्य समितिले पत्र पठाईसकेको धनगढी नगर कमिटिका सचिव यज्ञराज उपाध्यायले जानकारी दिए ।
नगर सचिव उपाध्यायले एक साताभित्रै सबै वडाबाट प्रतिवेदन आइसक्ने र लगत्तै समिक्षा बैठक राखिने बताए । समिक्षा बैठकमा नेपाली काँग्रेसका उम्मेदवार, जिल्ला कार्य समिति, नगर कार्य समिति र वडा समितिका पदाधिकारीहरुको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार