पत्रकार ज्यामीको निधन
धनगढी । कैलालीको टीकापुरका पत्रकार जयसिंह ज्यामीको निधन भएको छ । नेपाल पत्रकार महासंघ कैलालीका साधारण सदस्यसमेत रहेका ज्यामीको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण हस्पिटलमा निधन भएको परिवारले जनाएको छ ।
एक्कासी प्रेसर बढेपछि ज्यामीलाई एक साताअघि टीकापुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । टीकापुर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज हुंदै काठमाडौं लगिएको थियो ।
काठमाडौंमा उपचार गराइरहेका ज्यामीको मंगलबार बेलुका निधन भएपछि बुधबार सांझ ज्यामीको शव जानकी गाउंपालिकास्थित खैरीफांटा उनको निवासमा ल्याइएको छ । बिहिबार उनको अन्तिम संस्कार गरिएको परिवारजनले जनाएका छन् ।
३९ बर्षिया ज्यामीका श्रीमती र दुई छोरा छन् । ज्यामी पत्रकारितासंगै कला र संगितका क्षेत्रमा आबद्ध छन् । उनले टीकापुरमै कलावन्त संगित प्रशिक्षण केन्द्र संचालनमा ल्याएका थिए । साथै टीकापुरस्थित ज्ञानी शाह शिशु पाठशालामा समेत संगित शिक्षकका रुपमा कार्यरत थिए ।
पत्रकार, संगितकार, साहित्यकार तथा कलाकार ज्यामीको निधनले पत्रकारिता क्षेत्रमा क्षति भएको छ ।
नेपाल पत्रकार महासंघ कैलालीले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको साथै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष जगत साउँदद्धारा हस्ताक्षरित विज्ञप्तिमा एक इमान्दार, कर्तव्यनिष्ट, जिम्मेवार पत्रकार ज्यामीलाई गुमाउँदाको दुःखद् घडीमा नेपाल पत्रकार महासंघ कैलाली शाखा मर्माहित बनेको उल्लेख छ ।