राष्ट्रिय सभा सदस्य निर्वाचनः आकांक्षी धेरै
धनगढी । माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि प्रमुख दलहरूभित्र आकांक्षीको दबाब बढ्न थालेको छ ।
राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गर्दा कुन दलबाट को उम्मेदवार हुने भन्ने चर्चा पनि व्यापक हुँदै गएको छ । निर्वाचन आयोगले माघ १० गते राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ताको दिन तोकिसकेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रबिच राष्ट्रिय सभा सदस्य निर्वाचनमा समेत गठबन्धन हुने भएपछि यी दुई दलभित्रै नै आकांक्षीको दबाब अधिक रहेको देखिएको छ ।
उम्मेदवार बन्न धेरै आकांक्षी हुने देखिएपछि एमालेले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यमा पराजित तथा समानुपातिक सूचीमा परेकालाई राष्ट्रिय सभा सदस्यको टिकट नदिने मापदण्ड बनाइसकेको छ ।
त्यस्तै, एमालेले स्थानीय चुनावमा हारेकालाई पनि उम्मेदवार हुन नपाउने नीति बनाएको छ । तर, यति हुँदाहुँदै पनि एमालेमा आकांक्षीहरूको सूची लम्बिँदै गएको छ ।
राष्ट्रिय सभामा हरेक प्रदेशबाट आठ जना सांसद छानिने व्यवस्था छ । तीमध्ये तीन महिला, तीन पुरुष, एक दलित र एक अल्पसङ्ख्यक वा अपाङ्गता भएको व्यक्ति छानिनु पर्ने हुन्छ । खुला तीन सिटमा धेरैले उम्मेदवार हुने आकाङ्क्षा देखाएका छन् ।
राष्ट्रिय सभामा एमालेबाट प्रदेश नम्बर ७ बाट केन्द्रीय सदस्यत्रय महेश्वर पाठक, रामकुमार ज्ञवाली, विक्रम शाही, पूर्वमन्त्री भानुभक्त जोशी, अछामका अध्यक्ष शेरबहादुर कुँवर, डोटीका हर्कबहादुर सिंह, पुराना नेता डिल्लीराज भट्ट, कञ्चनपुरका भोजराज जोशी, गोविन्द कलौनी, वैतडीका परमानन्द भट्ट, कैलालीका नवराज जोशी, पद्मसिंह सिंङाल, बास गुरागाई, सूर्यप्रसाद श्रेष्ठ, बाजुराका दयालबहादुर शाही लगायत टिकटको आकांक्षी रहेका छन् । यस्तै, एमाले कञ्चनपुरका पुर्व अध्यक्ष ईश्वरी खरेलले पनि आफु राष्ट्रिय सभा सदस्यका लागि प्रवल आकाक्षी रहेको बताए ।
त्यस्तै, एउटा सिट रहेको दलितमा पूर्व सांसदहरू लालबहादुर बिक, पुरनसिंह दयाल, अफिलाल उखेडा, दिलबहादुर बिक, पार्वती आग्री आकांक्षी देखिएका छन् ।
त्यस्तै, तीन जना महिला सदस्यमा पूर्व सांसद गौरी ओली, कैलालीका कलावती जोशी, सावित्रा घिमिरे, कोइली चौधरी लगायतले उम्मेदवारको आकाङ्क्षा राखेका छन् । यस्तै, अपाङ्गतर्फबाट कैलालीका रामचन्द्र जोशीले उम्मेदवार हुन पाउने अपेक्षा गरेका छन् ।
एमाले र माओवादीबिच गठबन्धन हुँदा एमालेले बढीमा दुई जना खुला उम्मेदवार पाउने सम्भावना छ । एमालेले केन्द्रीय सचिवालयको निर्णय अनुसार उम्मेदवारको सिफारिस गर्न माघ ४ गते प्रदेश कमिटीको सचिवालय बैठक धनगढीमा हुने भएको जनाइएको छ ।
माओवादी केन्द्रबाट पनि राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन धेरै आकांक्षी देखिएका छन् ।
माओवादी केन्द्रबाट कैलालीका हरिराम चौधरी उत्सव, हरि ज्ञवाली, गोकुल खनाल, अगस्त अधिकारी, रंगनाथ ढकाल, डडेलधुराका खगराज भट्ट, बझाङका देवराज रेग्मी, अछामका टिएम स्वाँर लगायतका २१ जना आकांक्षी रहेको बताइएको छ ।
त्यस्तै, माओवादी केन्द्रबाट दलित कोटमा पूर्व सभासद् हरि श्रीपाइली, महिला सदस्यमा पूर्व सांसदत्रय रुपा चौधरी, मञ्जु बम र रेणु चन्दले आकाङ्क्षा देखाएका छन् ।
एमाले र माओवादी केन्द्रको तुलनामा नेपाली काँग्रेसमा भने उम्मेदवारका आकांक्षी कम देखिएका छन् ।
खुला सदस्यमा काँग्रेसबाट कैलालीका पूर्व जिल्ला विकास समिति सभापति नारायणदत्त मिश्रले उम्मेदवार हुने चाहना राखेका छन् ।
त्यस्तै, बाजुराबाट केन्द्रीय सदस्य बद्री पाण्डेय तथा पूर्व सांसद देवराज जोशी, बझाङबाट सुरेश मल्ल, डोटीबाट भक्तबहादुर बलायर, अछामबाट टीकाराम खनाल लगायतले उम्मेदवार हुने इच्छा राखेको बताइन्छ ।