छुरा हानेर प्रेमीको हत्या



कञ्चनपुर ।  छुरा प्रहार गरी एक युवतीले प्रेमीको हत्या गरेकी छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको आफ्नै प्रेमिकाले हत्या गरेकी हुन्। 

अश्लील भिडियो र फोटो खिचेर ब्ल्याकमेलिङ गरेको भन्दै उनकी प्रेमिका धर्मा बोहराले सोमबार राति हत्या गरेको प्रहरीले जनाएको छ। ‘आफूलाई पटकपटक ब्ल्याकमेलिङ गरेका कारण हत्या गरेको युवतीले बताएकी छिन्,’ कञ्चनपुरका एसपी डिल्लीराज बिष्टले भने,‘उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं।’ मृत्यु हुने बोहरा सशस्त्र प्रहरीका पूर्वजवान हुन्। 

युवती विवाहित भए पनि बोहरासँग उनको निकटता थियो। पछिल्लो समय युवती टाढिँदै गएपछि उनले गोप्य फोटो र भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका थिए। 

युवतीले बोहाराविरुद्ध साइबर क्राइम अपराधमा उजुरी दिएपछि उनी जागिरबाट निलम्बनमा परेका थिए। त्यही कारण युवतीको श्रीमान्‌सँग सम्बन्ध पनि बिग्रियो। 

श्रीमान्‌सँगको सम्बन्ध बिग्रिएपछि ‘जे भयो भयो, अब सँगै बसौं’ भनेर युवती एक महिनादेखि बोहरासँग धनगढीमा बस्दै आएकी थिइन्। 

‘सोमबार राति पुरानै विषयमा उनीहरुबीच झगडा भएछ,’ एसपी विष्ट भन्छन्,‘त्यही विवादमा झगडा हुँदा युवतीले छुरा हानेर हत्या गरेको बुझिएको छ।’ 
घाँटीमा छुरा हानेर उनले हत्या गरेकी हुन्। बोहराको कोठामै मृत्यु भएको थियो। 

घटनापछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। त्यतिबेलासम्म युवती कोठामै थिइन्। रिसको आवेगमा आफूले हत्या गरेको उनले बयान दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्