८ कार्तिक २०८१, बिहीबार

राष्ट्रिय सभाको निर्वाचनपछि सरकार छाड्छु : प्रधानमन्त्री देउवा



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको निर्वाचनपछि सरकार छाड्ने बताएका छन् ।
‘राष्ट्रिय सभा गठन नभएसम्म संविधानले पूर्णता पाउँदैन’ शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने ‘सभाको गठन लगत्तै म सत्ता हस्रण गर्छु ।’ प्रधानमन्त्री देउवाले आफू सरकार छोडन तयार रहेको बताए ।
उनले भने– ‘मलाई सरकारमा बसिरहन कुनै मन छैन, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न लगत्तै प्रक्रिया पुर्‍याएर सरकार छोड्छु ।’ प्रधानमन्त्री देउवाले भर्खरै सम्पन्न निर्वाचनको परिणामले नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश दिएकाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न बताए ।
एमाले बाहेकको सरकार बन्ने चर्चाको विषयमा प्रधानमन्त्री देउवाले भने– ‘नेपाल हो हुन पनि सक्छ तर, मलाई केही पनि थाहा छैन् ।’
नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने विषयमा सहमतिको प्रयास भइरहेको बताए । उनले यस विषयमा दलहरूबीच चाँडै सहमति हुने र सहमती नभए पनि तोकिने बताए ।
प्रधानमन्त्री देउवाले भने– ‘दलहरूसंग प्रदेश राजधानी र प्रमुख तोक्ने विषयमा छलफल भइरहेको छ, चाँडै तोकिन्छ ।’ उनले सकभर सबै दलको सहमतिमा नभएपनि यस सरकारले चाँडै प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने बताए । शुक्रबार भएको सर्बदलीय बैठकमा भने सहमती हुन सकेन ।
प्रधानमन्त्री देउवा शनिबार महेन्द्रनगरमा हुने सुदूरपश्चिम विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन शुक्रबार यहाँ आएका हुन । प्रधानमन्त्री देउवाले आइतबार गोदावरीमा धार्मिक मेलाको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार