२८ पुष २०८१, आईतवार

धुमधामसंग पृथ्वी जयन्ती मनाइयो



धनगढी । कैलाली सहित देशभरी २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम सहित भव्य ढंगले मनाइएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दै राष्ट्रले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ ।
नेपालबाट गणतन्त्र स्थापनापछि २०६४ सालबाट सरकारी स्तरबाट पृथ्वी जयन्ती मनाउन छोडिएको थियो । यस वर्ष सरकारले पुन: पृथ्वी जयन्ती दिवस मनाउने घोषणा गर्दै सार्वजनिक बिदा समेत दिएको छ ।
पृथ्वी जयन्तीका अवसरमा सुदूरपश्चिम साहित्य समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टाहरूले रचना बाचन गर्दै पृथ्वी नारायण शाहको राष्ट्र निर्माण तथा राष्ट्रियता र एकताका लागि गरेको अतुलनीय योगदान स्मरण गरे ।
साहित्य समाजका अध्यक्ष रामलाल जोशीले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सरकारी स्तरबाट औपचारिक रूपमा जन्मजयन्ती मनाउन छोडिएकोमा यस वर्ष मनाइएकोमा खुसी लागेको प्रतिक्रिया दिए ।
बाइसे, चौबीसे राज्यमा विभाजित नेपाललाई पृथ्वीनारायण शाहले एकीकरण गरेपछि आधुनिक तथा एकतावद्ध नेपाल निर्माण भएको थियो ।
साहित्य समाजका महासचिव हरिकृष्ण कडायतले अहिलेको पुस्ताले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले देशका लागि गरेको संघर्ष र बलिदान स्मरण गर्न आग्रह गरे ।
उता, बैतडीमा राष्ट्र निर्माता पृथ्वीनारायणको सबैभन्दा ठूलो शालिक निर्माण गरिने बताइएको छ । सबै नागरिकलाई आफ्नो राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार बनाउन बैतडी जिल्लामा शालिक बनाउन लागिएको जनाइएको छ । राष्ट्रियता संरक्षण अभियानले बिहीबार बैतडीमा पत्रकार सम्मेलनमार्फत सबैभन्दा ठूलो शालिक निर्माण गरिने जानकारी दिएको छ ।
अभियानका अध्यक्ष हेमबाबु लेखकले ११ फिट लामो शालिक बनाइने बताए । ‘राष्ट्रियता संरक्षणका साथै यहाँको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले बैतडीमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सबैभन्दा ठूलो शालिक बनाउँदै छौं’ बिहिबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अभियानले सो घोषणा गरेको छ ।
यसबारेमा जिल्लाका विभिन्न सरोकारवालाहरूसँग पनि परामर्श गरिने अध्यक्ष लेखकले बताए ।
शालिक दशरथचन्द नगरपालिकाको गोठलापानी, गडी र शाहिलेक बजार नजिक कुन ठाउँ राख्ने भन्ने बारेमा पनि छलफल भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार