२८ पुष २०८१, आईतवार

खुला तथा दूर सिकाई कार्यक्रम लागू



धनगढी । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको खुला तथा दूर सिकाई कार्यक्रमबारे धनगढीमा जानकारी गराएको छ ।
त्रिभूवन विश्वविद्यालय अन्तर्गतको खुला तथा दूर शिक्षा केन्द्रले धनगढीमा बिहीबार आयोजना गरेको अन्तरक्रियामा सन् २०१५ देखि यो कार्यक्रममा सञ्चालन गरिएको जानकारी गराइयो ।
केन्द्रले पाइलेट प्रोगामका रूपमा हाल एमएड तहमा अंग्रेजी र गणित शिक्षामा कार्यक्रम शुरु गरेको केन्द्रका निर्देशक डाक्टर बालमुकुन्द भण्डारीले बताए । निर्देशक डाक्टर भण्डारीले सूचना र सञ्चारका आधुनिक प्रविधिहरूको प्रयोग गरी उच्च शिक्षामा विद्यार्थीहरूको पहुँच बढाउन यो कार्यक्रम लागू गरिएको बताए ।
‘गाउँमा भएका विद्यार्थीहरूले उच्च शिक्षा आर्जन गर्न निकै खर्च हुन्छ भनेर तथा स्वदेशमा र वैदेशिक रोजगारीमा जाने गरेका कारण धेरैजसो विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुनु परेको अवस्था छ’ उनले भने– ‘यो कार्यक्रमले यस्ता समस्याको समाधान गर्छ ।’ निर्देशक डाक्टर भण्डारीका अनुसार वैदेशिक वा स्वदेशी रोजगारीमा लागेका अथवा गाउँघरमा बसेका विद्यार्थीले ईन्टरनेटको सुविधाबाट शिक्षा आर्जन गर्न सक्ने चर्चा गरे ।
‘विगतमा विद्यार्थी कक्षामै उपस्थित भएर तथा घरमै आफै अध्ययन गरेर शिक्षा आर्जन गर्ने अवस्था थियो’ उनले खुला तथा दूर सिकाई कार्यक्रमले ती दुवैलाई समेटेको बताए । उनका अनुसार विद्यार्थीहरूले अनलाईनबाटै भर्ना फाराम भर्ने र फाराम भरेपछि विश्वविद्यालयको खाता नम्बरमा नेपाल राष्ट्र बैंकबाट तोकेको शुल्क भरेर तथा शिक्षकले अनलाईनमार्फत विभिन्न माध्यम (पुस्तक, भिडियो, अडियो) लगायतको प्रयोग गरी अध्यापन गराउँछन् ।
निर्देशक भण्डारीले यो कार्यक्रमअन्तर्गत विद्यार्थीहरूका लागि निश्चित समय नतोकिने तथा उनीहरूले शिक्षकको निर्देशनअनुसार अनलाईन माध्यमद्वारा सिकाई क्रियाकलापमा भाग लिने र तोकिएको स्रोत सामग्री अध्ययन गरी दिइएका कार्यहरू नियमित रूपमा सम्पन्न गरी अनलाईन माध्यमद्वारा बुझाउनु पर्ने व्यवस्था गरिएको बताए । उनले त्रिभुवन विश्वविद्यालयको नियमअनुसार सञ्चालन हुने विभिन्न आन्तरिक परीक्षामा अनलाईन विधिद्वारा सामेल भई परीक्षा उत्तीर्ण गर्नुपर्ने बताए ।
यो शिक्षा पद्धति पहिलो पटक बेलायतबाट शुरु भएको बताइएको छ । उनका अनुसार विश्वभरी अहिले उच्च शिक्षामा ३० देखि ४० लाख विद्यार्थी यो शिक्षा प्रणालीबाट अध्ययन गरिरहेका छन् ।
नेपालमा शुरुमा रेडियो कार्यक्रमबाट पनि विद्यार्थीहरूलाई अध्यापन शुरु गरिएको थियो । प्रविधिको विकाससँगै पछि टेलिभिजन कार्यक्रम, सिडी लगायतका माध्यमबाट पनि विद्यार्थीहरूलाई शिक्षाको पहुँचमा ल्याउन पहल गरिएको उनले स्मरण गरे । भने– ‘अहिले प्रविधिले ठूलो विकास गरेको छ । नेपालमा सबैभन्दा छिटो विकास भएको भनेको ईन्टरनेट नै हो, त्यसैले प्रविधिसँगै शिक्षालाई जोड्न हामी पनि त्यही शैलीमा जान जरुरी छ ।’
कार्यक्रममा कैलालीका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरू, सरोकारवाला तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार