२८ पुष २०८१, आईतवार

माघीको रौनक शुरु



धनगढी । थारू समुदायको सबैभन्दा ठूलो पर्व मानिएको माघीको रौनक सुरु भएको छ । कैलालीका थारू समुदायका बस्तीहरू यतिवेला माघीका लागि दुनाटपरी बनाउनेदेखि मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा जुटेका छन् ।
नेपालको पश्चिम तथा मध्य तराईका थारू समुदायको माघी सबैभन्दा ठूलो पर्व हो । माघे संक्रान्तिलाई थारु समुदायले नयाँ वर्षको रूपमा मनाउन गरेका छन् । माघीमा आफन्त तथा साथीसहित ढिक्री, मासु लगायतका परिकार खाने, खुवाउने चलन छ । ढिक्री थारू जातिको मौलिक पकवान हो । थारू समुदायले माघीलाई विशेष पर्वका रूपमा मनाउने भएकाले साताअघि देखिनै माघीको रौनक सुरु हुने गरेको थारु अगुवाहरू बताउँछन् ।
पछिल्लो समय माघीमा नुहाउने नदीखोला किनारामा मेला आयोजना गर्ने चलन पनि बढ्दै गएको छ । कैलालीका घोडाघोडी ताल, पथरैया नदी, कर्णाली नदी लगायतका नदीका घाटमा माघी मेलाको तयारी थालिएको छ । यो समयमा स्नान गरेमा आफूले चिताएको मनोकामना पूरा हुने, नि:सन्तानले सन्तान, सुखशान्ति तथा समृद्धि प्राप्त हुने भन्ने धार्मिक विश्वास रहेको छ ।
माघे संक्रान्तीको अवसरमा घोडाघोडी, धनगढी, भजनी नगरपालिकाको विभिन्न ठाउँमा मेलाको आयोजना गरिने बताइएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ७ कीर्तिपुर र वडा नम्वर १२ को नकफोडुवामा मेला लाग्ने जनाइएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर, ९ बंगराकटान माघी मेला समितिको आयोजनामा पुस ३० देखि माघ एक गतेसम्म माघी मेला हुने भएको छ ।

फाइल तस्बिर

‘हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति बचाउने हाम्रो । मेची महाकाली भाई—भाई, मेलामा आउनेलाई हार्दिक बधाई ।’ नाराका साथ बंगराकटानमा दुई दिने महोत्सव आयोजना गरिने मेला समितिका संयोजक ओमप्रकाश चौधरीले बताएका छन् ।
मेलामा थारु कला र संस्कृतिका साथै ढिक्री, अन्दीको भात, रोटी, तरुल, घोंगी, चट्नी, गँगटा, मुसाको मासु, बंगुर, सिद्रा, बयरको चट्नी, सक्करगन्जी लगायतका परिकार राखिने उनले बताए ।
विगतमा झैं यस वर्ष पनि घोडाघोडी नगरपालिका वडा नम्बर ७ कीर्तिपुरमा माघीका अवसरमा धार्मिक मेला लाग्ने भएको छ ।
बुट्का बाबा मन्दिरको संरक्षण तथा प्रचार प्रसारको लागि मेलाको आयोजना गरिने आयोजक मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।
माघे सक्रान्तीको अवसरमा पुस ३० गतेदेखि माघ ५ गतेसम्म भव्यसंग तीर्थमेला लाग्ने आयोजकले बताएको छ । पुजापाठको लागि पुस ३० गते राती ३ बजेबाट मन्दिर खुल्ला रहने बताइएको छ ।
मेला अवधीभर प्रत्येक दिन विभिन्न कलाकारको प्रस्तुती रहने छ ।आयोजकले मेला क्षेत्रभित्र तथा पाँच सय मिटर आसपास मदिरा जन्य वस्तु तथा माछा मासुको व्यापार निषेध गरिएको जनाएको छ । निर्णय विपरित कार्य गरेमा सामान जफतका साथै १० हजार रुपैयाँ जरिवाना गरिने आयोजकले बताएको छ ।
त्यस्तै, घोडाघोडी नगरपालिका वडा नम्बर १२ नकफोडुवामा रहेको असनाबाबाको मन्दीर प्रांगणमा पनि माघे सक्रान्ती तीर्थमेला मेला आयोजना हुने भएको छ ।
‘भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवद्र्धन, पवित्र धार्मिकस्थल असनाबाबाको संरक्षण’ नाराका साथ पुस ३० गतेदेखि माघ ५ गतेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ ।
असनाबाबाको मन्दीर संरक्षण सम्वद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ नकफोडुवामा मेला आयोजना हुने छ । मेलामा कलाकारहरूको प्रस्तुतिका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ ।
मेला अवधिभर मेला क्षेत्रभित्र तथा पाँच सय मीटर आसपासका क्षेत्रमा मदिराजन्य वस्तु तथा माछा मासु निषेध गरिएको छ ।
त्यस्तै, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँस्थित थारू संग्रहालयमा माघी महोत्सव हुने भएको छ ।
माघी महोत्सव–२०७४ मूल आयोजक समितिको आयोजनामा माघ ८, ९ र १० गते महोत्सव हुने जनाइएको छ ।
थारू समुदायको भेषभूषा, कला, संस्कृति र पहिचानको संरक्षणमा सघाउ पुर्‍याउन महोत्सवको आयोजना गरिने महोत्सव मूल समिति संयोजक जनक चौधरीले बताए ।
उनले महोत्सवको मुख्य आकर्षक पुरानो थारू घर, थारू कला संस्कृति हस्तकलाका विभिन्न सामग्रीहरूको प्रदर्शनीमा रहने बताए ।
साविकको श्रीपुर गाविसमा पाँच वर्षदेखि प्रत्येक वडामा पालैपालो माघी मिलन कार्यक्रम आयोजना हुँदै आएको थियो । यस वर्ष महोत्सव आयोजना गरिएको संयोजक जनकले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार