६ कार्तिक २०८१, मंगलवार

ऐश्वर्यको ४१ औं वार्षिकोत्सव



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५, हसनपुरस्थित ऐश्वर्य विद्या निकेतन माध्यमिक विद्यालयले मंगलबार विविध कार्यक्रम गरी ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिकोत्सवको सुदूरपश्चिमका क्षेत्रीय शिक्षा निर्देशक लालसिंह चौहानले एक समारोहबीच उद्घाटन गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा धनगढी उपमहानरपालिका प्रमुख नृपबहादुर वडको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक चौहानले ऐश्वर्य विद्या निकेतन शैक्षिक क्षेत्रमा राष्ट्रको धरोहर रहेको चर्चा गरे । क्षेत्रीय शिक्षा निर्देशक चौहानले ऐश्वर्यबाट उत्पादित दक्ष जनशक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेको बताए ।
कार्यक्रममा प्राध्यापक डाक्टर हेमराज पन्त विद्यालयले समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ लगायतका ख्यातीप्राप्त व्यक्तित्व उत्पादन गरिरहेको चर्चा गरे ।
विद्यालयका पूर्व प्राचार्य खेमराज पाण्डेयले ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिमको शान रहेको बताए ।
कार्यक्रममा प्राचार्य धर्मदेव भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो विद्यालयमा हाल तीन हजार ७१ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालय शिक्षा तथा खेलकुद मन्त्रालयबाट १२ पटक क्षेत्रीय शिल्डद्वारा पुरस्कृत भइसकेको छ ।
कार्यक्रममा प्राचार्य भट्टले आर्थिक वर्ष २०७३/०७४ को विद्यालयतर्फ आठ करोड ४१ लाख ३६ हजार एक सय ७६ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ को नौ करोड ६० लाख ३६ हजार एक सय ५५ रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।
त्यस्तै, छात्रावासतर्फ आर्थिक वर्ष २०७३/०७४ को ७६ लाख २६ हजार पाँच सय ६२ रुपैयाँको वास्तविक तथा आर्थिक वर्ष २०७४/०७५ को ७७ लाख ७७ हजार एक सय ८० रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंह, कैलाली बहुमुखी क्याम्पसका प्राचार्य प्राध्यापक डाक्टर पदमराज जोशी, प्राध्यापक सुरेन्द्र चन्द, नाष्ट कलेजका प्रमुख शिवहरि मुडभरी, अभिभावक सुशील श्रेष्ठ, विद्यार्थी अनुराधा भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहायक प्राचार्य गोविन्दसिंह थापाद्वारा मार्च पासको सदन परिचय भएको थियो । सहायक प्राचार्य प्रेमनिधि ओझाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सो दीर्घ सेवा गरेका शिक्षकहरू चन्द्रनारायण ठाकुर, कमलराज जोशी, उत्तमराज भट्ट र गणेशदेवी जोशीलाई सम्मान गरियो ।
त्यस्तै, सर्वाधिक उपस्थित हुने शिक्षक लीलाधर सापकोटा, कमलराज जोशी र पार्वती मडै तथा लेखा अधिकृत भरथरी चौधरीलाई पनि सम्मान गरियो ।
त्यस्तै, आदर्श अभिभावकमा तारा पन्त भट्ट, भागरथी खाती, गौतमसिंह ठगुन्ना, नरेश भट्ट र वीरेन्द्र भट्टलाई पनि सम्मान गरियो ।
त्यस्तै, विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पूर्व विद्यार्थीहरू डाक्टर गणेश फुलारा, डाक्टर भरत चोख्याल, डाक्टर राजेश बाहुन र डाक्टर प्रिंयका श्रेष्ठ, इञ्जिनियरहरू दिनेश पन्त, नवराज जोशी, लवराज रावत र विमल विष्ट तथा बीमा क्षेत्रका मदनराज भट्ट सम्मानित भए ।
त्यस्तै, व्यावसायी शैलेन्द्र श्रेष्ठ, कृषितर्फ रामनारायण चौधरी, सीए टेकराज पनेरू, र नारायण जोशीलाई सम्मान गरिएको थियो भने विद्यालयको स्थापनादेखि महत्त्वपूर्ण योगदान पुर्‍याएका स्वर्गीय नरेन्द्र पन्तलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
त्यस्तै, प्रमाणपत्र तहमा प्रदेश नम्बर ७ मा उत्कृष्ट विज्ञान विषयतर्फ छात्र मोहित जोशी, छात्रा अनुष्मा जोशी, व्यवस्थापन विषयतर्फ हिमाल विष्टलाई सम्मान गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा जेहेन्दार तीन जना विद्यार्थीलाई जनही नगद चार हजारका दरले विवेक छात्रावृत्ति प्रदान गरिएको थियो ।
शिक्षक कमल पन्त र संजय पन्तले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमको दृश्य

पुस २६ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार