१२ श्रावण २०८१, शनिबार

‘डिनर इन दि डार्क’ आयोजना हुँदै



धनगढी । रोटरी क्लव अफ धनगढीले नेत्रहीनहरूको सहयोगार्थ ‘डिनर इन दि डार्क’ (अँध्यारोमा रात्रीभोज) कार्यक्रम आयोजना गर्ने भएको छ ।
आँखाको ज्योतिबिना संघर्षमय जीवन बाँचिरहेका व्यक्तिहरूलाई दया नभई माया, स्नेह र सहयोगको खाँचो छ भन्ने सन्देश दिन यो कार्यक्रमको आयोजना गरिने मंगलबार धनगढीमा क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो अवसरमा कार्यक्रम संयोजक डाक्टर गणेशबहादुर सिंहले दिन पनि रातसरह अन्धकार भएका व्यक्तिहरूलाई खानाको जोहो गर्न कति कठिनाइ हुन्छ भन्ने समाजका विभिन्न वर्ग र पक्षलाई महसुस गराउन रात्रिभोजको आयोजना गरिने बताए ।
‘यस कार्यक्रमका लागि अन्धकार हलमा टेबुल राखिनेछन् । सोही टेबुलमा विभिन्न खानाका परिकार राखिनेछन् । जहाँ प्रकाश हुने छैन’ उनले भने– सहभागी व्यक्तिले अन्धकारमा आफनो भागको खाना खानु पर्नेछ भने खाना खाने समयावधि ३० मिनेट मात्र छुट्याइएको छ ।
नेत्रहीनहरूलाई सहयोग गर्न उत्प्रेरित गर्ने यो कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । कार्यक्रममा सहभागी हुन यस क्षेत्रका उद्योगी, व्यावसायी, सामाजिक संघसंस्था, सुरक्षा अधिकारी, सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई आग्रह गरिएको छ ।
कार्यक्रममा इच्छुक सहभागीबाट दुई हजार रुपैयाँ सहयोग शुल्क लिइनेछ । संकलित रकम नेत्रहीन व्यक्तिहरूको सहयोगमा खर्च गरिने डाक्टर सिंहले बताए ।
रात्रिभोजमा कम्तीमा एक सय जनालाई सहभागी गराउने योजना रहेको बताइएको छ । कार्यक्रम माघ ६ गते शनिबार धनगढीस्थित एक होटलमा साँझ ७ बजे आयोजना गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार