३० बैशाख २०८१, आईतवार

गोदावरीमा बाह्रराशी दर्शन मकरमेला हुँदै



धनगढी । मकर संक्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रशिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा माघ १ गतेदेखि बाह्रराशी दर्शन मकर मेला आयोजना हुने भएको छ ।
गोदावरी धाम विकाश समितीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मकर मेलाको आवश्यक तयारी तीब्र रुपमा अघि बढाइएको जानकारी दिइयो ।
विकास समितिका संयोजक पदमराज जोशीले मकर मेलामा आउने भक्तजनका लागि स्नानकुण्ड निर्माण कार्य अघि बढाइएको बताए ।
मकर मेलाको पुस ३० गते भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक जोशीले बताए । मकर मेला १२ दिनसम्म चल्ने छ । संयोजक जोशीले मेला अवधिभर नवग्रह शान्ति महाअनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन किर्तन हुने जानकारी दिए ।
गोदावरी धाममा बाह्रराशीको स्थापना गरी प्रत्येक राशीका व्यक्तिहरूलाई दर्शन तथा स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाई दर्शन एवं पूजाको व्यवस्था गरिएको विकास समितिले जनाएको छ ।
मेला अवधिभरी सुदूरपश्चिम लगायत नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न शहरबाट गरी पाँच लाख बढी दर्शनार्थी आउने आयोजकले अपेक्षा गरेको छ ।
प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरिएको आयोजकले जनाएको छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुरुप महाकुम्भपछि मकर मेला आयोजना गरिँदै आएको आयोजक समितीका संयोजक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार