२९ बैशाख २०८१, शनिबार

अवैध रूपमा मेडिकल सञ्चालन गर्ने पक्राउ



धनगढी । कैलाली प्रहरीले लम्कीमा अवैध रूपमा मेडिकल सञ्चालन गरिरहेको एक भारतीयलाई अवैध लागूऔषधीसहित पक्राउ गरेको छ ।
भारतको लखिम्पुर जिल्ला थाना निगासन ग्राम डांगा तिकुनियामा बस्ने ३४ वर्षिय छत्रपाललाई प्रहरीले लागूऔषधसहित शनिबार पक्राउ गरेको हो ।
लम्की नगरपालीका वडा नं.९ खमरियास्थित रहेको मेडिकल पसलमा अवैध लागूऔषध विक्रीवितरण हुन्छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खान तलासी गर्दा लागूऔषध बरामद गरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढामगरले बताए ।
प्रहरी टोलीले उक्त मेडिकल पसलमा लागूऔषधको रूपमा प्रयोग गरिने प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको प्रेस्क्रीप्सनमा विरामीको अभिलेख राखी डाक्टरको निग्रानीमा मात्र बिरामीलाई खुवाईने औषधि ट्रमाडोल, डिसाईक्लोमाईन, एभिल, सेटिराजिन लगायतका अवैध औषधि र नेपालमा दर्ता नभएका विक्रीवितरण गर्न नमील्ने अवैध भारतीय कम्पनीका प्रतिबन्धित औषधिहरू बरामद गरेको उनले बताए ।
प्रहरीले करिब पचास साठी हजार बराबरको तीन बोरा औषधिसहित छत्रपाललाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरी प्रवक्ता बुढा मगरले चर्को मूल्य लीई लुकाई छिपाई लागूऔषध (ट्यावलेट) बिक्रीवितरण गर्ने गरेको, नेपालमा दर्ता नगरिएका प्रतिबन्धित भारतीय औषधि भन्सार चोरी छली ल्याई विक्रीवितरण गर्ने गरेको, राखेको, दर्ता नगरी मेडिकल पसल सञ्चालन गरेको, मेडिकल सम्बन्धी कुनै शैक्षिक योग्यता हासिल नगरी अनुभवको आधारमा औषधि विक्रीवितरण तथा पसल सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए ।
प्रहरीले पक्राउ गरेका व्यक्तिलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कैलाली जिल्ला अदालतवाट म्याद थप गरी र औषधि व्यवस्था विभागसँग समन्वय गरी अनुसन्धान कार्य अघि बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार