३० बैशाख २०८१, आईतवार

बसपार्क स्तरोन्नती कार्य अघि बढेन



धनगढी । धनगढीको बसपार्क स्तरोन्नती कार्य अझैं अघि बढ्न सकेको छैन । सघन शहरी विकास कार्यक्रम अन्तर्गत बसपार्क स्तरोन्नतीका लागि चार महिनाअघि सम्झौता भएको थियो ।
शहरी भवन तथा डिभिजन कार्यालयका अनुसार फिल्ड खाली नभएका कारण काम गर्न समस्या भइरहेको छ । डिभिजन कार्यालयले पटक–पटक फोन सम्पर्क र एक पटक पत्राचार गरेर बसपार्क खाली गर्न अनुरोध गरे पनि सुदूरपश्चिम बस व्यावसायी समितिले आफ्ना बसहरू त्यहाँबाट नहटाएकोले काम गर्न कठिनाई भइरहेको सो कार्यालयका ईन्जिनियर उमेशकुमार चौधरीले बताए ।
बस समितिले बसपार्क भित्र रहेका बसहरू नहटाएसम्म ठेकेदार कम्पनीलाई काम गर्न कठिनाई हुने इन्जिनियर चौधरीले बताए । योजना सम्झौता भएको चार महिनासम्म पनि निर्माण कार्य नै सुरु नभएपछि निर्माण कम्पनीले पनि निर्धरित समयभित्र काम पुरा गर्न चुनौति हुने बताउँदै आएको छ । बसपार्क स्तरोन्नतीसम्बन्धी कार्यको ठेक्का लिएका कम्पनीका किशोर ठकुराठीले सम्झौता भएको समयभित्र निर्माण कार्य पुरा गर्न समस्या हुने बताए ।
बसपार्क स्तरोन्नतीका लागिे एक करोड ३५ लाख रुपैयाँमा ठेक्कापट्टा सम्झौता भएको छ । एक वर्षभित्र काम पुरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयले धनगढी उपमहानगरपालिकालाई वैकल्पिक व्यवस्थाका लागि निकै अघि पत्राचार गरिसकेको जनाएको छ ।
सुदूरपश्चिम बस व्यावसायी समितिका अध्यक्ष पदम सापकोटाले वैकल्पिक बसपार्कका लागि जग्गा खोजी भइरहेको बताए । उनले भने– ‘तर अझैसम्म पनि जग्गा पाइएको छैन ।’
धनगढी उपमहानगरपालिकालाई वार्षिक ९० लाख रुपैयाँ भाडा तिरेर सुदूरपश्चिम यातायातले बसपार्कमा यात्रुवाहक सवारी साधन पार्किङ गर्दै आएको छ ।
उपमहानगरपालिकाले वैकल्पिक व्यवस्थाका लागि बोराडाँडीमा अस्थायी वसपार्क बनाउने प्रयास गरे पनि विवादमा परेको थियो ।

अस्थायी बसपार्कको काम पनि अलपत्र
धनगढीको बोराडाँडीमा अस्थायी बसपार्क निर्माणको काम सेनाले रोकेपछि उपमहानगरपालिकाले वैकल्पिक बसपार्कको पनि व्यवस्था गर्न सकेको छैन ।
कात्तिक महिनाभन्दा अघि अस्थायी बसपार्कका लागि पहल गरेको उपमहानगरपालिकाले अहिलेसम्म बसपार्कको व्यवस्था गर्न नसकेको सघन शहरी तथा भवन डिभिजन कार्यालयका ईन्जिनियर चौधरीले बताए । उपमहानगरपालिकाले अस्थायी बसपार्कका लागि खोजेको जग्गा बसपार्कका लागि उपयुक्त भए पनि नेपाली सेनाले अवरोध गरेको छ ।
द्वन्द्वकालमा सुरक्षाका लागि तारबार गरेको खाली जग्गा अहिले नेपाली सेनाले आफ्नो स्वामित्वमा रहेको भन्दै त्यहाँ अस्थायी बसपार्क निर्माण गर्न अवरोध गरेको छ । उपमहानगरपालिकाले अस्थायी बसपार्क निर्माणका लागि पहल गरे पनि सेनाले रोकेपछि अहिले कुनै प्रक्रिया अघि बढेको छैन ।
उपमहानगरपालिकाले सो स्थानमा अस्थायी बसपार्क बनाउनको लागि माग गर्दै फाईल मन्त्रालय पठाएको र अहिलेसम्म कुनै प्रतिक्रिया नआएको उपमहानगरपालिका उपमेयर सुशीला मिश्र भट्टले बताइन् । उपप्रमुख भट्टले सबै निकायसँग समन्वय भइरहेकाले सोही स्थानमा नै छिट्टै अस्थायी बसपार्क निर्माण गरिने बताइन् ।
यसअघि पनि धनगढी उपमहानगरपालिकाले उत्तरबेहडीमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा स्थानीयको चर्को विरोधका कारण काम अघि बढ्न सकेको थिएन । उपमहानगरपालिकाका कर्मचारी, राजनीतिक दल सहितको टोलीले मन्त्रालय पुगेर फाईल लगे पनि वन मन्त्रालयमा पुगेर अड्किएको बताइन्छ ।
पुरानो बसपार्कको क्षमता बढीमा ६०/७० वटा बस मात्रै रहेको छ । बसपार्क स्तरोन्नतीपछि बढीमा ८० वडा बस अटाउने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार