२७ भाद्र २०८१, बिहीबार

अतिक्रमण नियन्त्रण : सूचनामाथि सूचना, तर सधैं ‘ढाकका तीन पात’



धनगढी । धनगढी उपमहानगरपालिकाले मिति २०७२ साल असार २३ गते सडक अतिक्रमण हटाउनेसम्बन्धी सार्वजनिक सूचना जारी गर्‍यो । सूचना प्रकाशित भएको केही दिन मूख्य बजार सडकका दायाँ–बायाँमा राखिएका ठेला, टहरा हटे । सडक खुल्ला देखियो । सवारी साधन सञ्चालनमा केही सहजता भयो । मानिसले आवागमनमा केही सजिलो अनुभव गरे । तर, यो अवस्था एक साता पनि टिकेन, सातापछि फेरि उही ‘ढाकका तीन पात ।’
२०७२ सालमा धनगढी नगर परिषदबाट धनगढीमा सडक तथा खोलानाला अतिक्रमण हटाउन एक निर्णय पास गर्‍यो । अनि ‘अविलम्ब अतिक्रमण हटाउ अभियान’ शुरु भयो । नगर परिषद्को बैठकमा कार्यकारी अधिकृत रामलाल श्रेष्ठले उपमहानगर क्षेत्रका खोलानाला, सडक, सार्वजनिक जग्गामा बढ्दै गएको अतिक्रमण हटाउन ‘अविलम्ब अतिक्रमण हटाउ अभियान’ को घोषणा गरे । केही दिन काम भएको जस्तो देखियो, तर फेरि उस्तै ।
सडक, सार्वजनिक जग्गा तथा खोलानाला अतिक्रमण असाध्य समस्याका रूपमा बढिरहेको धनगढी उपमहानगरपालिकाले नियन्त्रणका लागि सूचना जारी गर्ने काम भने रोकिएको छैन ।
२०७४ साल कात्तिकमा पनि यस्तै सूचना जारी भयो । धनगढी उपमहानगर प्रमुखद्वारा हस्ताक्षरित अतिक्रमण हटाउने सम्बन्धी सार्वजनिक सूचना प्रकाशित भयो । सञ्चारमाध्यममार्फत प्रकाशित, प्रसारित सूचनामा ‘एक साताभित्र सडकका दायाँ–बायाँ रहेका ठेला, टहरा, निर्माण सामग्री हटाउन’ आह्वान गरिएको थियो । तर, उपमहानगरपालिकाको सूचनाप्रति कसैले पनि ध्यान दिन समेत चासो राखेनन् । सूचना जारी गर्दा सडक तथा सार्वजनिक जग्गा अतिक्रमण नहटेपछि उपमहानगरपालिकाले बलपूर्वक अतिक्रमण हटाउन शुरु गर्‍यो । तर, उपमहानगरपालिकाले अतिक्रमण हटाएको भोलिपल्टै फेरि सडकमा उस्तै दृश्य देखापर्‍यो ।
अहिले उपमहानगरपालिकाले पुन: अतिक्रमण हटाउन सात दिने सूचना जारी गरेको छ । पुस ४ गते जारी भएको सूचनामा उल्लेख भएको म्याद आज (सोमबार) सकिँदैछ । उपमहानगरपालिकाले मोहना पुल–अत्तरिया सडक योजना अन्तर्गत निर्माण भइरहेको छ लेन सडकको दुवै पट्टी २५/२५ मिटरभित्र राखिएका व्यापारिक तथा निर्माण सामग्रीहरू हटाउन सूचना जारी गरेको छ ।
सडक अतिक्रमित तथा सडकको सीमाभित्र दायाँ–बायाँ राखिएका व्यापारिक तथा निर्माण सामग्री (बालुवा, गिट्टी, ढुंगा, इटा आदि) सात दिनभित्र खाली गर्न सूचनामा भनिएको छ । त्यस्तै, सडक पेटी तथा किनारमा राखिएका खोका, ठेला लगायत अन्य पसलका सामान समेत सो सात दिनभित्र हटाउन आग्रह गरिएको छ ।
उपमहानगरपालिकाले अतिक्रमण हटाउन पटक–पटक.सूचना जारी गर्ने र केही दिन सडक अतिक्रमण गर्नेलाई बल प्रयोग गरी हटाउने काम गर्ने गरेको छ । तर, केही दिनपछि पुन: अतिक्रमण दोहोरिने गरेको छ । धनगढीका मुख्य बजार क्षेत्रमा सडकका दुवै किनारामा निर्माण सामग्री तथा व्यापारिक सामग्री राख्ने सामान्य प्रवृत्ति भइसकेको छ । त्यस्तै, जहाँतहीँ जीपकार, मोटरसाइकल पार्किङ गर्ने प्रवृत्तिका कारण समस्या झन् चर्को भएको छ । त्यस्तै, उपमहानगरपालिकाभित्रका अधिकांस खोलानाला तथा सार्वजनिक स्थल अतिक्रमणको चपेटामा पर्दै आएका छन् । उपमहानगरपालिकाले नियमविपरित सडक किनारामा ठेला टहरा राख्ने, व्यापारिक सामग्री तथा निर्माण सामग्री राख्ने तथा सवारी साधन जहाँतहीँ अड्याउनेविरुद्ध कारबाही गर्न नसकेका कारण अतिक्रमण नियन्त्रण हुन नसकेको स्वयं कर्मचारीहरूको अनुभव छ ।
तीव्र रूपमा शहरीकरण भइरहेको धनगढीमा सडक अतिक्रमण गरी निर्माण सामग्री राख्दा बजार क्षेत्र नै अस्तव्यस्त बनेको छ । सवारी आवगमन तथा पैदल यात्रुलाई समेत सास्ती हुने गरी ढुंगा, गिट्टी बालुवा राख्ने प्रवृत्ति यथावत रहेको अवस्था छ । बजार क्षेत्रका मुख्यसँगै सहायक सडकहरूमा जथाभावी रूपमा निर्माणका लागि बालुवा, ढुंगा र गिटी लगायतका निर्माण सामग्री राख्दा यातायात सञ्चालनमा समेत निकै कठिनाई हुने गरेको छ ।
त्यसैमा बजार क्षेत्रमा तीब्र गतिमा सवारी साधन (खासगरी मोटरसाइकल) गुडाउने प्रवृत्तिका कारण सवारी दुर्घटनाको जोखिम पनि बृद्धि भएको छ । ट्राफिक प्रहरी कार्यालयले सडकका दुवै किनारामा निमार्ण सामग्री तथा व्यापारिक सामग्री राख्ने, जहाँतहीँ सवारी साधन अड्याउने र तीब्र गतिमा सवारी साधन चलाउने प्रवृत्तिले बजारमा सवारी जाम हुनुको साथै दुर्घटनाको जोखिम पनि बढेको जनाएको छ । ट्राफिक प्रहरीले पनि निर्माण सामग्रीहरू हटाउने जिम्मेवारी उपमहानगरपालिको भन्दै पन्छिने गरेको छ ।
घर निर्माण हुने स्थानमा उपहानगरपालिको सडकमा आवागमन अवरुद्ध नहुने गरी अनुमति लिएर राख्न पाइने भए पनि धेरैले त्यसको उल्लंघन गरेका छन् । उनीहरूले अनुमति नलिईकनै सडक किनारमा निर्माण सामग्री थुपार्ने गरेका छन् । उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अतिक्रमण व्यवस्थापनमा चुनौति हुँदाहुँदै पनि कार्यालय निरन्तर नियन्त्रणका लागि प्रयास गरिरहेको बताए ।
अतिक्रमण अझै बाँधक
धनगढीको राष्ट्रिय गौरवको आयोजना मोहना–अत्तरिया छ लेन सडक आयोजना अन्तर्गत अहिले ढलान गर्ने कार्य भइरहेको छ । तीन चरणमा ठेक्का भएको सो आयोजनाको कतै ढलान कार्य भइरहेको छ भने कतै नाली निर्माण गर्ने काम भइरहेको छ ।
धनगढीको नेशनल ट्ेरडिङदेखि ट्राफिक चौराहसम्म ढलान कार्य जारी रहेको छ । ठेक्का पाएको ठेकेदारले ढलान कार्य गरिरहेको भए पनि ठेला, टहराहरूले सडकमै बसेर व्यापार गरिरहेका छन् भने ट्राफिक चौराहदेखि चटकपुरसम्म भने ढलान कार्य हुन सकेको छैन ।
नेशनल ट्रेडिङदेखि ट्राफिक चौराहसम्म सडकमै राखेर तरकारी, माछा, मासु, ठेलामा खाजाका परिकारहरू बिक्री भइरहेका छन् । सडकमा बसेर व्यापार गर्दा ठूलो लगानी नलाग्ने र मुनाफा राम्रो हुने भनेर विपन्न समुदायका मानिसले सडक अतिक्रमण गरेर व्यापार गरिरहेका छन् । धनगढी उपमहानगरपालिकाले सडकमा व्यापार गर्नका लागि तीन चार स्थानमा खुल्ला हाटबजार क्षेत्र निर्माण गरेको भएपनि त्यहाँ उनीहरू बस्न मानिरहेका छैनन् ।
यता, ट्राफिक चौराहदेखि चटकपुरसम्म सामान्य रूपमा ठेला टहरा भएपनि हार्डवेयर, ठूला गाडी मर्मत लगायत ठूला भौतिक संरचनाका सामग्रीहरूले सडक अतिक्रमण गर्दा ढलान कार्य अघि बढ्न सकेको छैन । विगतमा पनि धनगढी उपमहानगरपालिकाले पटक–पटक सार्वजनिक सूचना जारी गर्दा सानातिना ठेला टहरा हटाएपनि ठूला व्यापारीले गरेको अतिक्रमण हटाउन सकेको थिएन ।
तीब्र रूपमा निर्माण गति लिइरहेको छ लेन सडक आयोजनामा सडक सीमा खाली नहुँदा निर्माण कार्य प्रभावित भइरहेको आयोजना प्रमुख मनिष साहले बताए । ‘विद्युत तथा टेलिफोन टावरका पोल सार्न पनि भौतिक संरचना खाली हुन जरुरी छ’ उनले भने– ‘अतिक्रमण नहटाइदा निर्माण कार्यमा समस्या भइरहेको छ ।’ उनले विद्युत तथा टेलिफोन टावरका पोलहरू सार्न ठेकेदारलाई निर्देशन दिइसकेको भए पनि सडक सीमा खाली नहुँदा पोलहरू सार्न समस्या भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार