१२ श्रावण २०८१, शनिबार

अनुसन्धान शैली वैज्ञानिक बनाऊ



धनगढी । ‘प्रविधिको प्रयोगसँगै अपराधीहरूको अपराध गर्ने शैली परिवर्तन हुँदै गएको छ तर, अनुसन्धान गर्ने शैली पुरानै छ’ शनिबार सरकारी वकिल दिवस २०७४ को उपलक्ष्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा न्यायिक क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले एकै स्वरमा भने ‘अनुसन्धान शैलीलाई पनि वैज्ञानिक बनाउन जरुरी छ ।’
‘हाम्रो अनुसन्धान पुरानै शैलीको भएकाले कतिपय अवस्थामा पीडकहरूले उन्मुक्ति पाइरहेका छन्’ उनीहरूले भने ‘पीडितहरूले न्याय नपाउँदा न्यायिक निकायमा पनि प्रश्न चिन्ह खडा भएको छ ।’ अनुसन्धान तथा अभियोजन प्रभावकारी नहुँदा मुद्दाहरू प्रभावित भइरहेको उनीहरूले बताए ।
‘अहिले समाजमा नयाँ–नयाँ तरिकाले गम्भीर प्रकारका अपराधहरू भइरहेका छन्’ जिल्ला न्यायधिश विष्णुप्रसाद अर्यालले भने ‘तर, प्रहरीले रोहबरमा घटनास्थलभन्दा बाहिरका मानिसलाई राख्छ । घटनास्थलबाट यकिन प्रमाणहरू संकलन गर्दैनन् । जसले गर्दा पीडकले उन्मुति पाउने मौका पाइरहेको छ ।’
‘प्रहरीले जे ल्यायो त्यसमा वकिल कार्यालयले सहि छाप गरेर अदालतमा ल्याउँने प्रवृति देखियो’ जिल्ला न्यायधिश विष्णुप्रसाद अर्यालले भने ‘यसले मुद्दा कस्तो होला भन्ने सहजै आँकलन गर्न सकिन्छ, त्यसैले पीडितलाई न्याय दिन पनि जिल्ला वकिल कार्यालय गम्भीर हुन जरुरी छ ।’ उनले प्रहरीले कृत्रिम मुद्दा बनाउनु महागल्ती भएको र यसमा जिल्ला न्यायधिवक्ता गम्भीर हुनुपर्ने सुझाव दिए ।
उनले न्यायिक निकायमा काम गर्ने अधिकाँस कर्मचारी गम्भीर नभएको बताउँदै ‘कर्मचारीमा जागिरे प्रवृति देखिएको छ ।’
जिल्ला न्यायधिश अर्यालले प्रहरी संरचनामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताउँदै ‘अनुसन्धानमा अयोग्य व्यक्ति छन् । कानुनका बारेमा ज्ञाननै नभएका व्यक्ति प्रहरीमा रहेका छन् । त्यसैले अनुसन्धान तथा अभियोजनलाई राम्रो बनाउन संरचना परिवर्तनमा ध्यान दिनुपर्छ ।’
जिल्ला न्यायधिश अर्यालले ७ नम्बर प्रदेशमा वाणिज्य ईजलास आवश्यक रहेको बताउँदै ‘यसमा सम्पूर्ण नागरिक समाज, बार एशोसियसनका पदाधिकारीहरूले आवाज उठाउन जरुरी छ ।’
‘अमेरिका, चीन जस्ता राष्ट्रमा अपराध अनुसन्धानका लागि भनेर राज्यले दुई प्रतिशत बजेट विनियोजन गरेको छ’ जिल्ला न्यायधिश प्रशुराम भट्टराईले भने ‘तर, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन नेपालमा राज्यले छुट्याएको छैन् ।’ उनले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन परीक्षण गर्ने निकायलाई ७ वटै प्रदेशमा राख्न जरुरी रहेको बताउँदै ‘एउटै मात्र वैज्ञानिक अपराध परीक्षण गर्ने निकाय छ । जसले गर्दा रिपोर्ट पाउन पनि महिनौ दिन कुनुपर्ने अवस्था रहेको छ ।’
‘विगतको भन्दा अहिले अपराध अनुसन्धानमा केही सुधार भएको छ’ कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने ‘समस्याको पहिचान गरी सुधारिदै अघि बढेपनि अझै पनि कतिपय ठाउँमा कमिकमजोरी रहेका छन् ।’ उनले कमजोरीलाई स्वीकार गरेर सुधार्दै अघि बढ्नुपर्ने सुझाव दिए । प्रजिअ रिजालले अनुसन्धान तथा अभियोजनमा प्रमाणलाई बलियो बनाए पीडितलाई सजाय र पीडकलाई न्याय दिन सकिने बताए ।
उनले प्रशासनमा कानुनको सामान्य ज्ञान नभएका कर्मचारी हुँदा उनीहरूबाटै काम लिनुपर्ने बाँध्यता यथावत रहेको बताए । उनले विधिको शासन स्थापित गर्न सबै जिम्मेवार हुनुपर्ने बताए ।
जनप्रतिनिधिलाई न्यायिक अधिकार दिएपनि समस्या भइरहेको नेपाल वार एशोसियसनका अध्यक्ष प्रेम चन्दले बताए । अध्यक्ष चन्दले प्रहरीले साईवर अपराध, सवारी दुर्घटना लगायतका घटनालाई पनि सार्वजनिक मुद्दा बनाउने गरेको गुनासो गरे ।
कैलाली जिल्ला वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता प्रकाशबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बार एशोसियनसनका केन्द्रीय उपाध्यक्ष कुलानन्द उपाध्याय, वरिष्ठ अधिवक्ता राजेन्द्रबहादुर साउँद, महिला तथा बालबालिका कार्यालयकी प्रमुख सन्ध्या राजवंशी सिंह, बार एशोसियसनका सचिव हिमालय विक्रम विष्ट, अधिवक्ता गंगाराम उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यालयकी नायव सुब्बा अमृता पाण्डेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह–न्यायधिवक्ता भानुदेव जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार