१२ श्रावण २०८१, शनिबार

दुई क्रिकेटर सम्मानित



धनगढी । केही दिन अघि थाईल्याण्डमा भएको इस्टर्न रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता टोलीका दुई जना क्रिकेटरलाई बिहीबार धनगढीमा सम्मान गरिएको छ ।
सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यु–१६ टोलीका सदस्यद्वय नारायण जोशी र सुवोध ऐरलाई सम्मान गरियो । दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन् भने उनीहरू अहिले सुदूरपश्चिाञ्चल एकेडेमीमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
सुदूरपश्चिमाञ्चल एकेडेमीमा आयोजना गरिएको सम्मान कार्यक्रममा खेलाडीद्वय जोशी र ऐरलाई प्रदेश नम्बर ७ का प्रादेशिक प्रहरी प्रमुख माधव नेपाल र कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरे ।
धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले स्वागत गरेको सम्मान कार्यक्रम सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख पुष्पराज जोशीको अध्यक्षतामा भएको थियो ।
इस्टर्न रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा क्रिकेटर नारायणको उत्कृष्ट प्रदर्शन रहेको थियो ।
पाँच वटै खेल खेल्न पाएका नारायणले पहिलो अन्तर्राष्ट्रिय डेव्यु खेलमा थाईल्याण्ड विरुद्धको खेलमा ५ विकेट लिएका थिए ।
त्यस्तै, म्यानमार विरुद्ध उनले चार विकेट लिएका थिए । प्रतियोगिताभरी उनले ११ विकेट लिएका थिए ।
व्याटिङतर्फ उनले फाईनल खेलमा निकै राम्रो प्रदर्शन गरेका थिए । फाईनल खेलमा २३ वलको सामना गरेका उनले एक छक्का पाँच चौका हिर्काउँदै अविजित ४६ रनको पारी खेलेका थिए ।
यु–१६ नेपाली क्रिकेट टोलीका अर्का सदस्य सुवोधले दुई वटा मात्रै खेल खेल्ने मौका पाएका थिए । उनले फाइलमा २२ रन बनाएका थिए ।
यसैबीच, दुवै खेलाडीलाई नि:शुल्क रूपमा एक वर्षको क्रिकेट प्रशिक्षण दिइने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले खर्च व्यहोर्ने गरी ६ महिनाको भारत र ६ महिनाको श्रीलंकामा क्रिकेट प्रशिक्षण दिइने भएको हो ।
उनीहरूको प्रदर्शनलाई अझ निखार्नका लागि नि:शुल्क प्रशिक्षणका लागि दुवै जनालाई पठाउने सुदूरपश्चिमाञ्चल एकेडेमीका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले सम्मान कार्यक्रममा घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार