फारवेष्ट पशुपति कप फुटवल : एपिएफ र फारवेष्ट फाइनलमा भिड्दै
धनगढी । ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कपको उपाधिका लागि आयोजक फारवेष्ट पशुपति युवा क्लव र एपिएफ अत्तरिया भिड्ने भएका छन् ।
धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाईनलमा फराकिलो जित दर्ता गर्दै आयोजक फारवेष्ट पशुपति युवा क्लव फाइनलमा प्रवेश गरेको हो ।
एपिएफले यसअघि सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवलाई १–० ले हराउँदै फाईनल पुगिसकेको छ ।
धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनलमा विदेशी खेलाडी सेगुनको दोहोरो ह्याट्रिकको मद्दतले फारवेष्ट पशुपति युवा क्लवले न्यु वुद्ध युवा क्लव फूलवारीलाई ८–१ को फराकिलो गोल अन्तरले पराजित गर्यो ।
सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा न्यु वुद्धले सम्हालिन नसकेपछि फराकिलो हार व्यहोरेको हो ।
पहिलो हाफको १४ औं मिनेटमा न्यु वुद्धका लक्ष्मण शाहीले पहिलो गोल गर्दै अग्रता दिलाए । तर त्यो अग्रतालाई फारवेष्टले तीन मिनेट पनि टिक्न दिएन । पहिलो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी सेगुनले गोल गर्दै खेललाई वरावरीमा पुर्याए । फारवेष्टकै रोशन खत्रीले ४३ औं मिनेटमा दोस्रो गोल गर्दै आफ्नो टीमलाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफको अन्तिम समयमा विपक्षी टीमले अग्रता कायम गरेपछि टीम सम्हालिन सकेन र दोस्रो हाफमा न्यु वुद्धले थप ६ गोद खायो । दोस्रो हाफको ४४ औं मिनेटमा महेश चन्दले तेस्रो गोल गर्दै ३–१ को अन्तर बनाए । त्यसपछिका लगातार ५ गोल गर्दै सेगुनले दोहोरो ह्याट्रिक पुरा गरे । उनले दोस्रो हाफको ६३, ६७, ७७, ८३ र ८७ औं मिनेटमा गोल गरेका हुन । उनी नै म्यान अफ द म्याच भए ।
मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गते शनिबार सकिनेछ । पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको फारवेष्ट पशुपति कपको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले जनही १०/१० हजारका दरले पुरस्कार पाउनेछन् ।