२७ पुष २०८१, शनिबार

फारवेष्ट पशुपति कप फुटवल : स्पोर्ट्स स्कुल फुटवल एकेडेमी र न्यु वुद्ध दोस्रो चरणमा



धनगढी । यहाँ जारी ग्यालेक्सी पब्लिक स्कूल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगितामा दाङको स्पोटर््स स्कुल फुटवल एकेडेमी र कैलाली फूलबारीको न्यु बुद्ध युवा क्लव दोस्रो चरणमा प्रवेश गरेका छन् ।
आइतबार भएका खेलमा विजयी हुँदै ती दुवै टिम अन्तिम आठमा पुग्न सफल भए ।
धनगढीको क्षेत्रीय रंगशालामा आइतबार भएको पहिलो खेलमा दाङको स्पोर्ट्स स्कुल फुटवल एकेडेमीले धनगढीको हसनपुर युवा क्लवलाई सून्यका विरुद्ध आठ गोल अन्तरले पराजित गर्‍यो ।
पुरै खेलभरी हसनपुर युवा क्लवमाथि दबाव बनाएको र आक्रामक खेल खेलेको दाङ फूटवल एकेडेमीका हस्तराज गिरी र गणेश नेपालीले ह्याट्रिक गरे ।
हस्तराजले पहिलो हाफको १७ र दोस्रो हाफको ४८ र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
गणेशले ह्याट्रिक सहित पाँच गोल गरे । उनले पहिलो हाफको १९ औं मिनेटमा पहिलो व्यक्तिगत गोल गरेका थिए ।
उनले त्यसपछि पहिलो हाफको ३० औं मिनेट तथा तथा दोस्रो हाफको ५१, ५७ र ६० औं मिनेटमा गोल थपे । उनी खेलको म्यान अफ द म्याद भए ।
आइतबार नै भएको दोस्रो खेलमा न्यु वुद्ध युवा क्लवले चौमालाको मंगल युवा क्लवलाई चारका विरुद्ध छ गोलले हरायो ।
गोलको वर्षा भएको सो खेलमा न्यु वुद्धका सुन्दर घिसिङले ह्याट्रिक गरे । उनले पहिलो हाफको २० औं र २६ औं तथा दोस्रो हाफको ४० औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, लक्ष्मण शाही, सुरज शाही र बाल्टर चौधरीले एक/एक गोल गरेका थिए ।
मंगल युवा क्लवले दोस्रो हाफमा चार गोल फर्काए पनि हार टाल्न सकेन । मंगलका विनोद चौरधी, अर्जुन चौधरी र योगेन्द्र चन्दले एक/एक गोल गरेका थिए । भने न्यु बुद्धले एक आत्मघाती गोल गरेको थियो । सो खेलको म्यान अफ द म्याच न्यु वुद्धका सुन्दर बने ।
आइतबारको खेलहरूसंगै पहिलो चरणका खेल पुरा भएका छन् । आज (सोमबार) देखि क्वाटरफाईनलका खेलहरू हुने आयोजकले जनाएको छ ।
आज आयोजक फारवेष्ट पशुपति युवा क्लव वी र एपिएफ अत्तरियाबीच तथा फारवेष्ट अत्तरिया स्पोटर््स एकेडेमी र न्यु वुद्ध युवा क्लवबीच क्वार्टर फाइनलका खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार