१५ बैशाख २०८१, शनिबार

रेशमले वारेशमार्फत प्रमाणपत्र नपाउने



काठमाडौं । कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीले वारेशमार्फत विजयी प्रमाणपत्र नपाउने भएका छन् ।
२०७२ साल भदौमा भएको टीकापुर घटनाका आरोपी रेशममाथि प्रहरीले वारेन्ट जारी गरेको छ । उनी घटनालगत्तै फरार भएका थिए । सीमावर्ती भारतीय बजारमा बस्दै आएका रेशमले वारेशमार्फत उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धीभन्दा निकै ठूलो मतान्तरले विजय प्राप्त गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले कर्तव्य ज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले बारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाई गर्न नसकिने भन्दै रिट दर्ता गर्न नै अस्वीकार गरेपछि रेशमले वारेस मार्फत विजयी भएको प्रमाणपत्र पाउन नसक्ने भएका छन् ।
फरार रहँदाकै अवस्थामा वारेसनामा मार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि चौधरीले रञ्जिता चौधरीलाई बारेस दिँदै प्रमाणपत्र लिन पठाएका थिए । तर, जिल्ला निर्वाचन कार्यालयले आफैं उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । निर्वाचन कार्यालयले निर्वाचित भएको व्यक्ति कर्तव्य ज्यान मुद्दामा आरोप लागेको भन्दै निर्वाचन आयोगमा प्रमाणपत्र पठाएको थियो ।
केन्द्रीय निर्वाचन कार्यालयमा प्रमाणपत्र आएपछि उनले सर्वोच्च अदालतमा वारेसमार्फत् रिट निवेदन दर्ता गराउन खोजेका थिए । तर, सर्वोच्च अदालत प्रशासनले अदालतको प्रक्रिया नै स्वीकार नगरेका रेशमलाई वारेस मार्फत प्रमाणपत्र दिन माग गरिएको रिट दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेको हो ।
मुख्य रजिस्ट्रार नकुल सुवेदीले मुलुकी ऐनको व्यवस्था अन्तर्गत दर्ता भएको मुद्दालाई स्वीकार नगरेका कारण चौधरीलाई बारेस मार्फत प्रमाणपत्र दिने निवेदन दर्ता नहुने कारण देखाउँदै दरपीठ गरेको जनाइएको छ ।
सर्वोच्चका मुख्य रजिस्ट्रार सुवेदीले दरपीठ गरेको आदेशमा भनिएको छ– ‘कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग लगायतमा अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त मुद्दालाई स्वीकार गरी अदालत उपस्थित समेत नभएको व्यक्तिको हकमा सर्वोच्चमा निवेदन दर्ता गर्न मिल्ने देखिँदैन ।’
२०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ प्रहरी र डेढ वर्षीय एक बालकको हत्या भएको थियो ।
राजपाबाट उम्मेदवार बनेका चौधरीले कैलाली क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार गरिमा शाहलाई २१ हजार मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।

मंसिर ०२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार