११ श्रावण २०८१, शुक्रबार

स्थानीय तहको मातहतमा स्वास्थ्य संस्था



धनगढी । कैलालीका सबै सरकारी स्वास्थ्य संस्थाहरू सम्बन्धित स्थानीय तहको मातहतमा आएका छन् ।
स्वास्थ्य मन्त्रालयले मंगलबार धनगढीमा जिल्लाका सबै स्थानीय तहका प्रमुखसँग लिखित सहमति गरी स्वासथ्य संस्थाहरूको जिम्मेवारी हस्तान्तरण गरेको छ । यससँगै अबदेखि जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थाहरू सम्बन्धित स्थानीय तहले सञ्चालन गर्नेछन् ।
स्वास्थ्य मन्त्रालयका विशेषज्ञ प्रमुख डाक्टर विनोदमान श्रेष्ठ, कैलाली जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा, जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंले संयुक्त रूपमा स्वास्थ्य संस्थाहरू हस्तान्तरण गरे ।
जिल्लामा हाल सञ्चालमा रहेका सेती अञ्चल अस्पताल, टीकापुर तथा मालाखेती अस्पताल, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३७ वटा स्वास्थ्य चौकी, १२ वटा शहरी स्वास्थ्य केन्द्र, चार वटा सामुदायिक केन्द्र, दुई सय वटा गाउँघर क्लिनिक, दुई सय ७५ खोप केन्द्र तथा सामुदायिक स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण गरिएका छन् ।
मन्त्रालयका विशेषज्ञ प्रमुख डाक्टर श्रेष्ठले मुलुक संघीय संरचनामा गइसकेकाले संविधान कार्यान्वयन गर्न स्वास्थ्य संस्थाहरू स्थानीय तहमा हस्तान्तरण गरिएको बताए । ‘स्थानीय तहमा स्वास्थ्य संस्थाको जिम्मेवारी हस्तान्तरण हुँदा आम जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ’ उनले भने– ‘यसले स्वास्थ्य संस्था सञ्चालनमा समेत सहज हुने छ ।’
सो अवसरमा गोदावरी नगरपालिकाका स्वास्थ्य संयोजक हर्कबहादुर खड्काले स्वास्थ्य संस्थाहरू स्थानीय तहमा हस्तान्तरण हुँदा केही अन्योल थपिएको बताए । ‘स्वास्थ्य संस्थाहरूमा जनशक्तिको अभाव छ । बजेट पनि कम छ’ उनले भने– ‘त्यसैले स्थानीय तहबाट यी समस्या समाधानका लागि बढी ध्यान दिनु आवश्यक छ ।’
जिल्ला समन्वय समिति कैलालीका संयोजक थापाले स्थानीय तहमा स्वास्थ्य संस्था हस्तान्तरण भएपछि प्रभावकारीरूपमा सञ्चालन हुने प्रतिबद्धता जनाए ।

मंसिर २७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार