१२ श्रावण २०८१, शनिबार

काँग्रेस सत्ताको खेलमा लाग्नु हुँदैन– नेता भण्डारी



अत्तरिया । नेपाली काँग्रेसका नेता सुनीलकुमार भण्डारीले आगामी पाँच वर्षसम्म आफ्नो पार्टीले सत्ताको कुनै पनि खेलमा सहभागी बन्न नहुने बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ मा काँग्रेसका उम्मेदवार रहेका नेता भण्डारी निर्वाचनमा पराजित भएका थिए ।
‘काँग्रेसको लक्ष्य शान्ति, स्थिरता र आर्थिक समृद्धि हो’ मंगलबार नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ ले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भण्डारीले भने– ‘एमाले र माओवादी केन्द्रसहितको बाम गठबन्धनलाई जनताले दिएको म्यान्डेटको हामी स्वागत गर्दछौं र हामी रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने छौं ।’
उनले लोकतन्त्रमा जीतहार स्वाभाविक प्रक्रिया भएको चर्चा गर्दै निर्वाचन शालीन र शान्तिपूर्ण ढंगले सम्पन्न भएको र जनताले उल्लासपूर्ण वातावरणमा विवेकपूर्ण ढंगले मतदान गरेर लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएको उल्लेख गरे । ‘मेरो ५२ वर्षको राजनीतिक जीवनमा पहिलो पटक जनतासंग प्रत्यक्ष सम्पर्क र संवाद गर्ने अवसर प्राप्त गरे’ उनले भने– ‘म यसलाई जीवनपर्यन्त निरन्तरता दिनेछु ।’
पत्रकारहरूको एक जिज्ञासामा नेता भण्डारीले नेपाली काँग्रेसमा अब वैचारिक, संरचनागत तथा कार्यनीति र रणनीतिमा समयानुकुल परिवर्तन र परिमार्जन आवश्यक भइसकेको बताए ।
कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार रहेका हिरादत्त भट्टले निर्वाचनबाट प्रजातन्त्र, राष्ट्र र जनताको जीत भएको चर्चा गरे । ‘निर्वाचनले लोकतान्त्रिक पद्धतिलाई संस्थागत गरेको छ’ संविधानलाई पूर्ण कार्यान्वयन गर्ने प्रक्रियालाई बलियो बनाएको छ ।
प्रदेश सभा क का उम्मेदवार यज्ञराज चौधरीले आफूले कहिले पनि जातीयता, क्षेत्रीयता जस्ता कुरामा विश्वास नगर्ने दोहोर्‍याए । उनले आफू सधैं जनताको हकहितका संरक्षणका लागि प्रयासरत रहने बताए ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले पनि मन्तव्य व्यक्त गरेकी थिइन् । क्षेत्रीय सभापति दिनेशराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमको नगर सचिव तेज खड्काले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार